logo
२०८१ बैशाख १८ मंगलवार



स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी स्थानीय लाभान्वित


बेलिना थापा
लमजुङ, फागुन २२ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा सञ्चालित आँखा तथा दन्त शिविरबाट तीन सयभन्दा बढी जना लाभान्वित भएका छन् । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित एकदिने आँखा तथा दन्त शिविरमा सो सेवा लिएका हुन् ।

त्रिशक्ति महिला सञ्जालको आयोजना,मर्स्याङ्दी गाउँपालिकाको आर्थिक सहयोग र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गाउँपालिकाका अधिकांश वडाका नागरिक सेवा लिन आएको बताइएको छ ।

शिविरमा पुरुष १ सय १० र महिला १ सय ९२ जनाले सेवा लिएका छन् । जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार ९२ जनाले दाँतसम्बन्धी सेवा लिएका छन् । २७ जनाको दाँत झिकिएको छ । ३७ जनालाई अस्पतालमा आउन परामर्श गरिएको चिकित्सकको भनाइ छ ।

आँखाको सेवा २ सय ६३ जनाले लिएका छन् । शल्यक्रिया २७ जनाको गर्नुपर्ने भएको र अस्पतालमा रिफर गरिएको छ । एकसय ४७ जनालाई चस्मा वितरण गरिएको श्रेष्ठले बताउनुभयो । स्थानीयलाई स्वास्थ्यसम्बन्धी परामर्श दिइएको छ ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वास्थ्य सबैका लागि महत्वपूर्ण रहेकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्यसम्बन्धी गाउँ–गाउँमा सचेतना दिनुपर्ने उहाँले बताउनुभयो । महिला सञ्जालले गरेको काम उदाहरणीय रहेको बताउनुभयो । स्थानीयले माग गरेमा स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष ख्याल गरेको उहाँले बताउनुभयो । कार्यक्रममा वडा ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत, वडा ८ का अध्यक्ष हीरादेवी घले, त्रिशक्ती महिला सञ्जालका अध्यक्ष देवी बस्नेतलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?