logo
२०८१ बैशाख १४ शुक्रवार



स्वास्थ्य शिविरमा साढे चार हजार विद्यार्थीको उपचार

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्य शिविरमा साढे चार हजार विद्यार्थीको उपचार


गोकर्ण दयाल
बैतडी, फागुन २२ गते । स्वास्थ्य कार्यालय बैतडीले विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरमा बैतडीका साढे चार हजारभन्दा बढी विद्यार्थीले उपचार पाएका छन् । जिल्लाका १० वटा स्थानीय तहका १० वटा विद्यालयमा सञ्चालन गरेको आँखा, कान र दाँत चेकजाँच तथा उपचार शिविरबाट चार हजार ७०३ जना विद्यार्थीले उपचार पाएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, “बैतडीका १० वटा स्थानीय तहका १० वटा माध्यमिक विद्यालयमा सञ्चाल भएको आँखा, कान र दाँत चेकजाँच तथा उपचार शिविरबाट सबैभन्दा बढी दाँतको समस्या भएका विद्यार्थीले सेवा पाएका छन् ।” जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीकाअनुसार दाँतका एक हजार ६२७, कानका एक हजार ४९२, आँखाका एक हजार ५८४ गरी चार हजार ७०३ जना विद्यार्थीले सेवा पाएका छन् ।

स्थानीय तहका पालिकाअनुसार पञ्चेश्वर गाउँपालिकाको जेवलकट्टे माविका ३७५ जना, मेलौली नगरपालिकाको तिताबै माविका ३८४, दशरथचन्द नगरपालिकाको कालिका मावि थालिगाडाका ४०६, दोगडाकेदार गाउँपालिकाको भवती मावि सित्तडका २३० जना विद्यार्थीले उपचार पाएका छन् ।

त्यसैगरी, डिलासैनी गाउँपालिकाको सरस्वती मावि ननाराका ५८४, सुर्नया गाउँपालिकाको रौलेश्वर माविका ४४२, पाटन नगरपालिकाको त्रिपुरेश्वर मावि वशन्तपुरका ४८०, पुरचौडी नगरपालिकाको भूमिराज मावि गहताडका ४८१, सिगास गाउँपालिकाको सारदा मावि ढुङ्गाडका ७५० र शिवनाथ गाउँपालिकाको पीपलकोट माविका ५७१ जना विद्यार्थी गरि चार हजार ७०३ जना विद्यार्थीले उपचार पाएका छन् ।

प्रत्येक स्थानीय तहका एक–एक विद्यालयमा शिविर सञ्चालन गर्ने कार्यक्रमअनुसार विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रुमख योगेशप्रसाद भट्टले बताउनुभयो । स्वास्थ्य शिविरमा उपचार गराएका विद्यार्थीमध्ये दाँत, कान र आँखाको थप उपचार गराउनु पर्ने अवस्थाका विद्यार्थीलाई अभिभावक बोलाएर अस्पताल जान सुझाव दिइएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?