logo
२०८१ बैशाख २६ बुधवार



बाँकेमा हात्तीपाइले विरुद्धको अभियान, १२ औं पटक औषधि खुवाईंदै

स्वास्थ्य |
प्रदेश |


बाँकेमा हात्तीपाइले विरुद्धको अभियान, १२ औं पटक औषधि खुवाईंदै



सिराज खान
नेपालगञ्ज, फागुन २४ गते । छ वर्षसम्म हात्तीपाइले विरुद्धको औषधि खुवाएपछि निवारण हुनुपर्नेमा बाँकेमा ११ पटक औषधि खुवाए पनि हात्तीपाइले विरुद्धको अभियान प्रभावकारी हुन सकेको छैन ।

११ वर्षमा ११ पटक औषधी खुवाउने अभियान चलाइए पनि प्रभावकारी नभएपछि हाल आएर १२ औं पटक औषधि खुवाईंदैछ । फागुन २८ गतेबाट जिल्लामा १२ औं पटक हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

रोग निवारणको निर्धारित समयको दोब्बर पटक औषधि खुवाउँदा पनि बाँकेमा हात्तीपाइले निवारण हुन नसक्दा राज्यले पटकपटक बाँकेमा सो विरुद्ध अभियान चलाउनु परेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो ।
यसअघिका अभियानहरुमा विभिन्न कारणले अधिकांशले औषधि नखाएको र केहीले एक वर्ष खाने अनि अर्को वर्ष नखाने गरेकाले पनि सो अभियान प्रभावकारी नभएको उहाँले बताउनुभयो ।

बाँकेमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु भएपछि पाँच पटक परीक्षणसहितको सर्भे गरिएको छ । जसमा बाँके फेल हुँदै आएको छ । यद्यपि, पहिले भन्दा रिपोर्ट भने सकारात्मक छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शाहका अनुसार देशका अधिकांश जिल्ला हात्तीपाइले निवारणको स्तरमा पुग्दा पनि बाँकेले भने अझैँ मापदण्ड प्राप्त गर्न सकेको छैन । पछिल्लो पटक फागुनमा बाँकेको दुई ठाउँमा हात्तीपाइले अवस्थाबारे प्रि टास्क सर्भे भएको थियो । जसमा पनि बाँके फेल भएको प्रमुख शाहले बताउनुभयो ।

स्वास्थय कार्यालयका अनुसार कोहलपुरको रझेना र नेपालगञ्जमा प्रि टास्क सर्भे गरिएको थियो । जसमा निवारण लेभलभन्दा बढी हात्तीपाइले संक्रमित भेटिएका थिए ।

पहिलो पटक बाँकेमा भएको बेसलाइन सर्भेमा सन् २००१ मा बाँकेमा २०.८ प्रतिशत संक्रमित फेलापरेका थिए । त्यसपछि त्यो ‘रेसियो’ भने घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, प्रि टास्कमा सन.् २०१५ मा बैजनाथ र नेपालगञ्जका सर्भे गरियो । जसमा बैजनाथमा १८.५ र नेपालगञ्जमा १३.२ प्रति प्रतिशतमा संक्रमण देखियो । दोस्रो प्रि टाक्स सर्भे सन् २०१७ मा बैजापुर, रझेना र नेपालगञ्जमा भयो । जसमा रझेनामा सर्भेमा सहभागी मध्ये २२.३, बैजापुरमा ५.३, नेपालगञ्जमा ८ प्रतिशतमा परीक्षण गराएकामध्येमा पोजेटिभ देखियो ।

यसपटक सबै स्थानीय तहका जनप्रतिनिधि, नागरिक, राजनीतिक दल, संघ, संस्थाले हात्तीपाइले विरुद्धको अभियानमा हातेमालो गरिरहेको जनाउँदै प्रमुख शाहले यसअघि जस्तो परिवारका सदस्यलाई औषधि दिने भन्दा यस पटक आफै‌‌‌ले खुवाउने पर्ने नियम बनाएको बताउनुभयो ।

उहाँका अनुसार अहिलेको औषधि पहिलेको भन्दा एउटा थप गरिएको छ । जुन निकै प्रभावकारी छ । जसले एक वर्षमै हात्तीपाइले निवारण गर्न सक्दछ । त्यसैले २८ गतेबाट १४ दिन बाँकेका घरघरमा पुगेर स्वयंसेवक आफैँले औषधि खुवाउनुहुनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?