logo
२०८१ बैशाख ८ शनिवार



जिरी अस्पतालमा पोषण पुनर्स्थापना गृह स्थापना

स्वास्थ्य |
प्रदेश |


जिरी अस्पतालमा पोषण पुनर्स्थापना गृह स्थापना


बाबुराम शर्मा
चरीकोट, फागुन २४ गते । दोलखाको जिरी नगरपालिकास्थित जिरी अस्पतालमा जिल्लामै पहिलो पटक १० नर्मल बेड र १०२ बेडको आइसोलेशन बेडसहितको पोषण पुनर्थापना गृह स्थापना भएको छ । नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीले फागुन १५ गतेबाट स्थापना गृह सञ्चालनमा आएको जानकारी दिनुभयो ।

६ महिनादेखि ५ वर्षसम्मका कुपोषित बालबालिकालाई निको नभईन्जेलसम्म उचित खानपान, स्याहारसुसार र उपचार सेवासहितको आवासीय पोषण गृह सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । जिरी अस्पतालको भवनमा सामग्री व्यवस्थापन र कर्मचारीको नियुक्तपछि गृह सञ्चालन सम्भव भएको हो ।

चालु आर्थिक वर्ष गृह सञ्चालनका लागि संघीय सरकारबाट एक करोड रुपियाँ प्राप्त भएको थियो । गृहका प्रबन्धक कामना न्यौपानेले भन्नुभयो, “दोलखासहित रामेछाप र सोलुखुम्बुका कुपोषित बालबालिकालाई एक जना अभिभावकसहित निःशुल्क रुपमा सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो गृह स्थापना गरिएको हो ।”

यो गृहमा अहिले दोलखाका छ जना कुपोषित बालबालिकालाई आमासहित राखिएको छ । जिरी नगरपालिका तीन, तामाकोशी गाउँपालिकाका दुई र मेलुङ गाउँपालिकाका एक जना बालबालिकालाई उपचारका लागि भर्ना गरिएको छ । बालबालिकालाई कुपोषण पहिचान भएपछि निःशुल्क स्वास्थ्योपचारका साथै मात्रा मिलाएर दैनिक पोषणयुक्त खाना खुवाउने र निको नभइन्जेलसम्म उक्त सेवा दिइने प्रबन्धक न्यौपानेले बताउनुभयो ।

कुपोषित बालबालिका निको भएपछि डिस्चार्ज गरिन्छ । डिस्चार्ज गरेपनि छ महिनाको अबधिमा तीन पटकसम्म बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हासिल गरेका ज्ञान र प्रयोगकाबारेमा अनुगमन गरिने व्यवस्था छ । गृह सञ्चालन एवम व्यवस्थापनका लागि एक प्रबन्धकसहित चार जना अनमी, तीन जना भान्छे र एक सहयोगीसहित नौ जना कर्मचारी अस्पतालले खटाएको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?