logo
२०८० चैत्र १६ शुक्रवार



सुदूरपश्चिमका पाँच जिल्ला सक्रिय सङ्क्रमितमुक्त नजिक

स्वास्थ्य |
प्रदेश |


सुदूरपश्चिमका पाँच जिल्ला सक्रिय सङ्क्रमितमुक्त नजिक


अविनाश चौधरी
धनगढी, फागुन २४ गते । सुदूरपश्चिम प्रदेशका पाँच जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्तको नजिक पुगेको छ । अछाम, बझाङ, डडेल्धुरा, दार्चुला र डोटी सक्रिय सङ्क्रमितबाट मुक्त नजिक पुगेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार यी जिल्लामा अब क्रमशः ३, ३, ८, ४ र ७ जना मात्रै सक्रिय सङ्क्रमित बाँकी छन् । त्यसो त प्रदेशभरि नै सक्रिय सङ्क्रमित सङ्ख्यामा कमी आएको छ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्यामा कमी आएको हो ।

माघ पहिलो साता प्रदेशभरि सक्रिय सङ्क्रमित सङ्ख्या साढे चार हजारसम्म पुगेकोमा हाल त्यो सङ्ख्या १६९ मा झरेको छ । सबैभन्दा बढी कैलालीमा ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, कञ्चनपुरमा २९, बाजुरामा १५ र बैतडीमा १४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय सङ्क्रमण दर न्यून रहेको र दैनिक थपिने सङ्क्रमितको सङ्ख्या कम रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो प्रदेशमा हालसम्म पाँच लाख १३ हजार ९२१ जनाको परीक्षण गर्दा ५९ हजार ५६७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सङ्क्रमणपछि ज्यान गुमाउनेको सङ्ख्या हालसम्म ६३३ पुगेको छ ।

यसैबीच मङ्गलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शङ्कास्पद् ३५ नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि नभएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?