logo
२०८१ बैशाख २६ बुधवार



अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालनमा

स्वास्थ्य |
प्रदेश |


अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालनमा


विजयकुमार साह
ढल्केबर, फागुन २५ गते । धनुषाको ढल्केवरमा अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालले ढल्केवरमा तीन करोड रुपियाँको लागतमा भवन निर्माण गरेर सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा ल्याएका हो ।

चालिस शैय्याबाट सुरु गरिएको सो अस्पतालमा मोतीबिन्दु, जलबिन्दु, मासु बढेको लगायत आँखासम्बन्धी सबै रोगको उपचार तथा शल्यक्रिया गरिने रेयूकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामनी शर्माले बताउनुभयो । अस्पतालमा दुई करोड रुपियाँभन्दा बढीको अत्याधुनिक उपकरण जडान गरिएको र थप उपकरण व्यवस्थापन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । ढल्केवरका स्थानीय समाजसेवी राजाराम महतोले दानमा उपलब्ध गराउनुभएको ६ कठ्ठा जग्गामा झण्डै तीन करोड रुपियाँ लागतमा तीन तले भवन निर्माण गरिएको हो ।

तराईवासीलाई सहज आँखाको उपचार प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको अस्पतालमा नेत्ररोग विशेषज्ञ टोली रहने र आँखाका सबै उपचार सेवा उपलब्ध गराउने महासचिव शर्माले जानकारी दिनुभयो । मधेस प्रदेशको मध्यभाग तथा मित्रराष्ट्र भारतको सीमादेखि केही दूरीको ढल्केवरमा अन्तर्राष्ट्रियस्तरको आँखा अस्पताल खुलेकाले यहाँ नेपाली र भारतीय नागरिकलाई सुविधा पुग्ने उहाँले बताउनुभयो ।

महासचिव शर्माले बिरामीको आवश्यकतालाई देखेर तत्काल अस्पताल खुला गरिए पनि उदघाटन केही महिनापछि गरिने जानकारी दिनुभयो । सबैलाई पायक पर्ने स्थानमा अस्पताल खुलेकाले आँखाका बिरामीलाई उपचारकै लागि टाढाको अस्पताल जानुपर्ने समस्यासमेत हट्ने उहाँले बताउनुभयो । सो अस्पतालको तीन वर्षअघि डोली इन्टर्मड इन्टरनेशनल न्यूयोर्कका अध्यक्ष स्कट र्यामिलटनले शिलान्यास गर्नुभएको थियो ।

तीन सय जनाको निःशुल्क शल्यक्रिया
रेयूकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबरले अस्पताल सञ्चालन गरेको पहिलो दिन तीनसय जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरेको छ । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट त्यतिको सङ्ख्यामा आँखामा मोतिबिन्दुका बिरामी फेलापरेका थिए ।

त्यसअघि आधिकारिरुपमा अस्पताल सञ्चालनमा नआउँदै मिथिला र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिका निःशुल्क आँखा शिविर सञ्चालन गरेर एक हजार दुईसय जनाको उपचार गरेको थियो । त्यस्तै सो अस्पतालले चारसय जना मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?