शिवशङ्कर मिश्र
कलैया, चैत ८ गते । बारा जिल्लाको ग्रामीण क्षेत्रमा गर्भपतन गराउन प्रयोग गरिने औषधि अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको छ ।
सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण गर्न पाउने नियम रहेता पनि बारा जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश औषधि पसलले खुलेयाम बिक्री वितरण गर्ने गरेका छन् ।
कलैया, जितपुर, सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, बरियारपुर, गञ्जभवानीपुरलगायतको ठाउँमा रहेका औषधि पसलमा गर्भपतनका औषधि अन्य सामान्य औषधि जस्तै सहज रुपमा बिक्री वितरण भइरहेको स्थानीयहरुले बताएका छन् ।
भारतीय बजारबाट अवैध रुपमा आयत गरिएका मेडावन, वान वानटेड, प्रिनेट, मेजायपोस्ट, आइपिल, एमटिपी, प्रिमेन्टो नामका गर्भपतन गर्न प्रयोग गरिने औषधि, फार्मेसी र औषधि पसलहरुमा सहजै रुपमा पाइने गरेको छ ।
यीमध्ये मेडावन नामक औषधि मात्र नेपाल सरकारले मान्यता दिएको औषधि हो । मेडिकल एबर्सनका औषधिको गलत प्रयोगबाट महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । यस्तै, युवतीहरुले यस्ता औषधि परिवार नियोजनका साधनका रुपमा प्रयोग गरिरहेका छन् ।
औषधि सेवनको लापरबाही पूर्ण प्रयोगबाट महिला र युवतीहरुमा गर्भपतनपछि देखिने जटिलता पोष्ट एबर्सन केयर अर्थात् ‘प्याक’को समस्या बढिरहेको वीरगञ्जका वरिष्ठ महिलारोग विशेषज्ञ डा.लक्ष्मी थापाले बताउनुभयो ।