राजन रावत
हुम्ला, चैत ९ गते । तीन महिनायता हुम्ला दोस्रो पटक कोरोनामुक्त जिल्ला भएको छ । एक हप्ता अगाडि श्वासप्रश्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई देखिए कोरोना उपचारपछि निको भएर घर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।
स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले कोरोना पुष्टिपछि उपचाररत बिरामी निको भएर घर फिर्ता भएपछि हुम्ला पुनः कोरोनामुक्त जिल्ला भएको बताउनुभयो । चैत २ गते परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो । दुईमध्ये एक जनालाई अक्सिजन दिएर एचडियूमा उपचार गरिएको थियो भने अर्का एक जना सङ्क्रमण पुष्टि भएपछि भागेका थिए । सङ्क्रमित एक जना हप्ता दिनसम्म आइसोलेशन उपचाररत रहनुभएको थियो ।
उहाँले तीन महिनाको अन्तरमा हुम्ला दुई पटक कोरोनामुक्त भएको बताउनुभयो । यो अवधिमा अरु थपलाई परीक्षण गर्दा कोरोना नदेखिएको अस्पतालले जनाएको छ ।
गत माघ २४ गते तेस्रो लहरको कोरोनाबाट जिल्ला मुक्त भएको थियो । माघ ९ गते हुम्लामा तेस्रो लहरको पहिलो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । गत असोजपछि माघ ९ गतेसम्म जिल्ला सङ्क्रमण शून्य थियो ।
सङ्क्रमणको दोस्रो लहरमा तीन हजार १३० जनामा परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जिल्लाका तीन जना सङ्क्रमितलाई थप उपचारका लागि हेलिकोप्टर रिजर्भ बाहिर रिफर गरिएको थियो भने पाँच जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो । पहिलो चरणमा भने ८५ जनामा कोरोना देखिएको थियो ।