logo
२०८० चैत्र १६ शुक्रवार



बाँकेमा सक्रिय संक्रमितको संख्या शुन्य

स्वास्थ्य |
प्रदेश |


बाँकेमा सक्रिय संक्रमितको संख्या शुन्य


सिराज खान
नेपालगञ्ज, चैत ९ गते । कोरोना महामारी शुरु भएको करिब दुई वर्षपछि बुधवार पहिलो पटक बाँकेमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । २०७७ साल बैशाख १९ गते बाँकेमा कोरोनाको पहिला संक्रमित फेला परेका थिए, त्यसपछि संक्रमित थपिने र घट्नेक्रम निरन्तर चलिरहेको थियो ।

सक्रिय संक्रमित संख्या शुन्यमा पुगेसँगै भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसन वार्ड रित्तिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । दुई वर्षको अवधीमा पहिलो पटक बाँके संक्रमित शुन्य भएको हो ।

करिव दुई वर्षको अवधिमा बाँकेमा २१ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउँदै फोकल पर्सन ओलीले ती मध्ये २० हजार ९७५ जना निको भएको र ३५२ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो ।

सबैभन्दा धेरै मानवीय क्षती दोस्रो लहरमा भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । तेस्रो लहरमा संक्रमित थपिए पनि मानवीय क्षती भने निकै न्यून भएको समितिले जनाएको छ ।

सक्रिय संक्रमित शुन्यमा झरेपछि बाँके कोरोनामुक्त हुने चरणमा पुगेको फोकल पर्सन ओलीले बताउनुभयो । पहिलो र दोस्रो चरणमा बाँके कोरोनाको ‘हटस्पट’ बनेको थियो । भारतसँगको खुला सीमानाकाका कारण भारतबाट फर्किएकाबाट संक्रमण तीब्र गतिमा फैलिएकाले बाँके संक्रमणको चपेटामा परेको थियो ।

भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा ड्युटी गरिरहनु भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुई वर्षपछि अहिले आएर पूर्ण रुपमा फुर्सद मिलेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?