logo
२०८१ मंसिर ८ शनिवार



विश्व क्षयरोग दिवस : ११ लाख बालबालिका क्षयरोगबाट पीडित

स्वास्थ्य |


विश्व क्षयरोग दिवस : ११ लाख बालबालिका क्षयरोगबाट पीडित


काठमाडौं, चैत १० गते । विश्व स्वास्थ्य सङ्गठनले संसारभर ११ लाख बालबालिका क्षयरोगबाट पीडित भएको जनाएको छ । सङ्गठनको वार्षिक प्रतिवेदनले संसारभर ९९ लाख मानिस क्षयरोगबाट पीडित भएमध्ये ११ लाख बालबालिका पीडित भएको देखाएको हो ।

राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेकोमा सात प्रतिशत बालबालिका रहेने देखाएको छ । चिकित्सका अनुसार क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुने सरुवा रोग हो ।

बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी अर्थात् फोक्सो बाहेक अन्य भागमा लाग्ने चिकित्सक बताउँछन् । बालबालिकालाई क्षयरोग अन्य अङ्गमा ग्रन्थी, आन्द्रा मेनेन्जेस, हाड, प्रजनन तथा मूत्रप्रणाली, छाला, आँखा आदि छन् ।

बालबालिकामा क्षयरोगका लक्षण बालबालिकाको उमेरमा निर्भर भइहरेकाले फरक–फरक लक्षणहरु देखापर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा. नवीनप्रकाश शाह बताउनुहुन्छ । चिकित्सकका अनुसार ज्वरो आउनु, ताैल घट्नु शारीरिक वृद्धि नहुनु, लामो समयसम्म एकनासले खोकी लाग्नु र ग्रन्थिहरु सुन्निनु क्षयरोगका लक्षण हुन् ।

यसैगरी, कमजोर प्रतिरक्षा प्रणाली भएका जस्तै एचआईभी पोजेटिभ, महुमेह रोगी, क्यान्सर रोग लागी केमोथेरापी गरिरहेका क्षयरोग भएको व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने घरवारबिहीन र सडक बालबालिका बढी क्षयरोगको जोखिम हुने डा. शाहले जानकारी दिनुभयो ।

क्षयरोग दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकालेको सूचनामा नवजात शिशुलाई बिसीजीको खोप दिने, क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने, नियमित रुपमा औषधिको सेवन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्दा बालबालिकामा क्षयरोगको रोकथाम गर्न सकिने उल्लेख गरेको छ ।

नेपालमा ९१ प्रतिशत क्षयरोगीहरुको सफल उपचार हुने गरेको राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्कले देखाएको छ । नेपालभरका स्वास्थ्य संस्थाहरुमा क्षयरोगविरुद्धको अति प्रभावकारी औषधिहरु निःशुल्क उपलब्ध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?