logo
२०८१ बैशाख २२ शनिवार



गर्भवती महिलालाई गाउँमैै भिडियो एक्सरे सेवा

स्वास्थ्य |
प्रदेश |


गर्भवती महिलालाई गाउँमैै भिडियो एक्सरे सेवा


राजु लामिछाने
रुकुम, चैत १० गते । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका गर्भवती महिलाले पहिलो पटक अल्ट्रा साउण्ड (भिडियो एक्सरे) सेवा पाएका छन् । गाउँपालिकाको वडा १, २, ३ र ४ नम्वरमा रहेका गर्भवती महिलालाई गाउँमै गएर अल्ट्रासाउण्ड सेवा प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा रहेको प्वाङ स्वास्थ्य चौकीबाट सो सेवा सुरुवात गरेको छ । गाउँपालिकाका अध्यक्ष कुमारी बरालले गर्भमा रहँदा बच्चाको अवस्था जाँच गरेर बच्चा र आमाको स्वास्थ्यमा जोखिम आउन नदिन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । पहिलो पटक दुई वटा स्वास्थ्य चौकीमार्फत् गाउँमै गएर ५४ जना गर्भवतीको स्वास्थ्य जाँच गरिएको अध्यक्ष बरालले बताउनुभयो । गाउँपालिकाका सबै वडामा स्वास्थ्य चौकी तथा गाउँघर क्लिनिकमार्फत कार्यक्रम कार्यान्वयन हुने बताइएको छ ।

वडा १ का सर्मिला बुढाले पेटको बच्चाको अवस्था भिडियो एक्सरे गरेर थाहा पाउने कुरा पहिलो पटक सुनेको बताउनुभयो । गाउँमै स्थानीय सरकारले यस्तो व्यवस्था गरेपछि आफूहरु खुशी भएको उहाँको भनाइ छ । वडा २ का जमुना खड्काले पेटको बच्चाको अवस्था थाहा पाउँदा आफु ढुक्क भएको बताउनुभयो । बेलैमा बच्चा र आफ्नो अवस्था जान्न पाउँदा प्रसूति हुँदा ज्यान जोखिम नहुने खड्काले बताउनुभयो ।

वडा २ को प्वाङ स्वास्थ्य चौकीमा गर्भवती महिलाको जाँच गर्दा वडा १ र २ का २५ जना गर्भवती महिलाले भिडियो एक्सरे गरेको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सिनियर अनमी पुष्पा ओलीले बताउनुभयो । उहाँका अनुसार जाँच गरिएकामध्ये तीन जनाको गर्भमा बच्चा उल्टो रहेको पाइएकाले प्रसूति हुने बेलामा थप सुविधा भएको अस्पतालमा जान सल्लाह दिइएको छ ।

त्यसैगरी गाउँपालिकाको वडा ३ र ४ मा गरिएको जाँचमा २९ जनाले सेवा लिएका छन् । पोखरा स्वास्थ्य चौकीमा गरिएको जाँचमा एक जना गर्भवती महिलाको पेटमा जुम्ल्याहा बच्चा रहेको पाइएको छ । अन्य सबैको अवस्था सामान्य रहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य जाँच कार्यक्रममा गर्भ रहेको ६ हप्तादेखि नौ महिनासम्मका गर्भवती महिलाको स्वास्थ्य र बच्चाको अवस्था जाँच हुनेगरेको गाउँपालिकाका सिनियर अनमी धनमाया चन्दले बताउनुभयो ।
कम उमेरमै गर्भवती
भिडियो एक्सरेमार्फत गर्भ जाँच गराउनेक्रममा धेरै जनाले कम उमेरमै विवाह गरेको तथ्य पाइएको छ । सानै उमेरमा विवाह गरेर र उमेर नपुग्दै गर्भवति हुनेगरेकाले पनि भिडियो एक्सरे सेवा लिएको उहाँहरुको भनाइ छ । स्वास्थ्य शाखाका सहसंयोजक ओलीले प्वाङ स्वास्थ्य चौकिमा अल्ट्रासाउण्ड गरेकामध्ये सात जना २० वर्षमुनिका गर्भवती रहेको बताउनुभयो ।

त्यसैगरी पोखरा स्वास्थ्य चौकीमा जाँच गरेकामध्ये ९ जना गर्भवती २० वर्षमुनिका रहेका छन् । तथ्यले बालविवाहको दर बढी रहेको प्रष्ट पारेको ओलीले बताउनुभयो । नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्डअनुसार अनिवार्य चार पटक स्वास्थ्य जाँच गर्न, तीन महिनापछि नियमित आइरन चक्की खान स्वास्थ्य संस्थामै प्रसूतिका लागि सल्लाह दिएको सिनियर अनमी ओलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?