logo
२०८१ बैशाख ७ शुक्रवार



मदन भण्डारी आँखा अस्पतालको उद्घाटन

स्वास्थ्य |
प्रदेश |


मदन भण्डारी आँखा अस्पतालको उद्घाटन


भोटराज राई
उदयपुर, चैत ११ गते । उदयपुरमा स्थापना भएको मदन भण्डारी आँखा अस्पतालले आजबाट सेवा प्रवाह थालेको छ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा अस्पतालको उद्घाटन गर्नुभयो ।

उद्घाटन क्रममा आँखाको अप्रेशन गरिएका बृद्धबृद्धाको पूर्व प्रधानमन्त्री ओलीले आँखाको पट्टी खोलिदिनुभएको थियो । त्यस अवसरमा पूर्व प्रधानमन्त्री ओलीले आँखाको ज्योति जीवनको सबैभन्दा महत्वपूर्ण भएको बताउनुभयो । धनी मानिस टाढा गएर पनि उपचार गर्न सक्ने भए पनि गरिबका लागि आफ्नै ठाउँमा पाएको सेवा अति महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

नेत्र ज्योति सङ्घ उदयपुरले स्थापना भएको १८ वर्षपछि त्रियुगा नगरपालिका –१० बाँसबारीमा आँखा अस्पताल निर्माण गरेको हो । सङ्घले यसअघि प्राथमिक आँखा अस्पताल सञ्चालन गर्दैआएकोमा अव जलबिन्दु र मोतीयाबिन्दु अप्रेशनसम्मको आँखा उपचार सेवा दिनेगरी अस्पताल स्थापना गरेको सङ्घका अध्यक्ष भागवत राउतले बताउनुभयो । सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा १३ वर्षअघिदेखि त्रियुगा नगरपालिकाको भवनमा आँखा उपचार केन्द्र सञ्चालन गर्दा करिब दुई लाख जनाले उपचार लिएका थिए । अव उदयपुरमै आँखासम्बन्धी थप उपचार हुने भएको छ । आँखा उपचारसँंगै कान समेतको विशेषज्ञ उपचार सेवा सञ्चालन हुने जनाइएको छ ।

अस्पतालले दिएको जानकारीअनुसार संविधान सभा सदस्य मञ्जुकुमारी चौधरीको निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट ४० लाख, जापनिज राजदूतावासबाट ९० लाख ५० हजार, प्रदेश सरकारबाट ५० लाख गरी १ करोड ४४ लाख ५० हजारको अस्पताल भवन बनेको हो । अस्पताल उपकरणका लागि नेपाल सरकारको २ करोड रुपियाँ लगानी रहेको छ । अस्पताल आउन जान सुविधाका लागि सडक विभाग मदन भण्डारी सडक आयोजनाबाट २२ लाख बराबरको कालोपत्रे सडक निर्माण र प्रदेश सरकारबाट ३२ लाखको लगानीमा सडक निर्माणको काम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?