logo
२०८१ बैशाख १४ शुक्रवार



५९ दरबन्दीको अस्पतालमा १७ जना कार्यरत

स्वास्थ्य |
प्रदेश |


५९ दरबन्दीको अस्पतालमा १७ जना कार्यरत


अमृतप्रसाद पौडेल
बेनी, चैत १२ गते । हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको सरकारी अस्पतालमा ५९ जना स्वीकृत दरबन्दीमा अहिले १७ जना मात्र कार्यरत रहनुभएको छ । ५० शैया क्षमता भएको बेनी अस्पतालमा ११ औं तहका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित ५९ जनाको दरबन्दी छ ।

बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलका अनुसार अहिले न्यून जनशक्ति भए पनि जनतालाई सुविधाबाट वञ्चित गरिएको छैन । बेनी अस्पतालमा अहिले एक जना निमित्त मेडिकल सुपरिटेण्डन्टसहित २ जना आठौं तहका मेडिकल अधिकृत कार्यरत रहनुभएको छ । आठौंदेखि ११ औं तहसम्मका १८ जना दरबन्दी रहेकोमा हाल १६ रिक्त र २ जना कार्यरत रहनुभएको अस्पतालले जनाएको छ ।

बेनी अस्पतालमा पेडियाट्रिक, अब्ष्टेट्रिक तथा गाइनोकोलोजी, जनरल सर्जन, अर्थोपेडिक सर्जन, साइक्याट्रि, एनेस्थेलियोलोजी, मेडिसिन, डेन्टिष्ट, फिजियोथेरापी, मेडिकल ल्याब टेक्नीसियन तथा नर्सिङ अहिले बेनी अस्पतालमा रिक्त छ । ५० शैयाको अनुमति प्राप्त बेनी अस्पतालमा अहिले ६४ बेडमा बिरामी भर्ना गरेर सुविधा दिने गरिएको छ । अहिले बेनी अस्पतालमा इमर्जेन्सिमा छ बेड, पेडियाट्रिक छ बेड, सर्जरीमा १०, एसएनसीयुमा तीन, डेलिभरिमा छ, डाइलासीसमा ६, पोष्ट अप्रेटिभ वार्ड पाँच, एएनसी तीन, पिएनसी नौ, आइसीयु पाँच र मेडिकल वार्डमा १५ बेड सञ्चालनमा छ ।

बेनी अस्पतालमा दरबन्दीमा रहेका ७ नर्सिङ्मध्ये २ जना कार्यरत छन् । त्यस्तै, अनमी पाँच जनामा दुई जना कार्यरत, हेल्थ असिस्टेन्ट दरबन्दीमा रहेका पाँचै जना रिक्त  छ । अस्पतालको मुख्य पाटोकै रुपमा लिइने फार्मेसीमा समेत स्थायी दरबन्दीको कर्मचारी नरहेको बताइएको छ । बेनी अस्पतालको डार्करुम असीस्टेन्ट दरबन्दी रिक्त छ ।

स्वीकृत दरबन्दीअनुसारका कर्मचारी भएको खण्डमा काम गर्न सजिलो हुने थियो तर त्यसो नहुँदा कम जनशक्तिले काम गर्न कठिन छ डाक्टर कँडेलको भनाइ छ । बेनी अस्पतालको बहिरंग विभागमा दैनिक रुपमा न्यूनतम दुई सय बिरामीले सेवा लिनेगरेको बेनी अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?