logo
२०८१ बैशाख १५ शनिवार



विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

स्वास्थ्य |
प्रदेश |


विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम


जानु पाण्डे
कपिलवस्तु, चैत्र १४ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ वगिहवास्थित दुर्गा भवानी कन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अघिल्लो वर्ष रजस्वला हुँदा पीडा भोगेको स्मरण गर्नुहुन्छ । रजस्वला हुँदा उहाँहरुलाई तल्लो पेट दुख्ने, टाउको दुख्ने थकान महसुस हुनेजस्ता समस्या हुनेगरेको थियो । छात्रा मात्र अध्ययन गर्ने विद्यालयमा लुम्बिनी प्रदेश सरकारले नर्सको व्यवस्था गरेपछि छात्राहरु लाभान्वित भएका हुन् ।

लुम्बिनी प्रदेश सरकारको नमुना कार्यक्रमको रुपमा सञ्चालनमा रहेको विद्यालयमा नर्स कार्यक्रमबाट विद्यालयमा अध्ययनरत बालबालिकाको आनिवानीमा समेत परिवर्तन आएको देखिएको छ । प्रदेश सरकारले नमुना कार्यक्रमको रुपमा ‘एक विद्यालय एक नर्स ’ कार्यक्रममार्फत स्टाफ नर्सको व्यवस्था गरेको छ । विद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य, सरसफाइमा पहुँच बढाउन कार्यक्रम लागु गरेको प्रदेश शिक्षा निर्देशनालयका उपसचिव थानेश्वर ज्ञवालीले बताउनुभयो ।

अस्पतालको काम गर्ने भए पनि बालबालिकाको सेवा गर्न पाउँदा बेग्लै अनुभव भएको दुर्गा भवानी कन्या मा.वि.का नर्स शर्मिला पाण्डेले बताउनुभयो । बालिकाहरुको व्यक्तिगत स्वास्थ्य परीक्षण, महिनावारी चक्र सुरु हुँदा परामर्श देखि महिनावारीमा हुने दुःखाइ, आइरन चक्की, जुकाको औषधि खुवाउनेसम्म काम गर्दैआएका छौं । यसका अलावा स्वास्थ्य शिक्षाका कक्षा, सरसफाइ, सन्तुलित आहारा तथा आनिवानी परिवर्तनका लागि बालबालिकालाई प्रोत्साहन गरेको छौ’ नर्स पाण्डेले बताउनुभयो ।

यता विद्यालयमा औषधि, स्वास्थ्यसम्बन्धी चार्ट, आँखाको दृष्टि जाँच गर्ने चार्ट, ओटोस्कोप (कानभित्र हेर्ने उपकरण), बालबालिका जाँच गर्ने कक्ष व्यवस्थापन नहुँदा केही जटिलता उत्पन्न भएको छ । प्रदेश सरकारको कार्यक्रम भएकाले स्थानीय सरकारले चासो नदिएको विद्यालय प्रशासनले भनेको छ ।

विद्यालयमा नर्स कार्यक्रम लागु भएपछि विद्यालयमा धेरै परिवर्तन आएको कन्या विद्यालयका प्रधानाध्यापक चन्द्रकला चौधरीले बताउनुभयो । विद्यार्थीले व्यक्तिगत सरसफाइमा ध्यान दिएको, आनिबानीमा सुधार देखिएको प्र.अ. चौधरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?