logo
२०८१ जेष्ठ ४ शुक्रवार



स्थानीय तहमा छैन सुरक्षित गर्भपतन सेवा

स्वास्थ्य |


स्थानीय तहमा छैन सुरक्षित गर्भपतन सेवा


काठमाडौँ, चैत। सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न चाहने संस्थालाई स्थानीय तहले नै अनुमति दिनसक्ने कानुनी व्यवस्था भएपनि सबै तहमा अझै यस्तो सुविधा उपलब्ध हुन सकेको छैन। सहरी क्षेत्रका स्थानीय तहमा समेत यस्तो सुविधा सहज रुपमा उपलब्ध हुन सकेको छैन।

पर्याप्त जनशक्तिको अभावमा यस्तो अवस्था आएको हो। सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले दुई सय शैय्या माथिका जनरल अस्पताल, ५० शैय्या माथिका आयुर्वेद अस्पताल, विशेषज्ञ तथा विशिष्टकृत अस्पताल लगायत १५ प्रकारको सेवा दिनसक्ने संस्थालाई स्वास्थ्य मन्त्रालय वा मन्त्रालयले तोकेको निकायले इजाजत दिन सक्ने व्यवस्था गरेको छ।

२५ देखि दुई सय शैय्यासम्मका जनरल तथा विशेषज्ञ अस्पताल, २५ देखि ५० शैय्यासम्मका आयुर्वेद अस्पताल लगायतका क्षमता भएका संस्थालाई प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायले इजाजत दिनसक्ने व्यवस्था उक्त निर्देशिकाले गरेको छ।

त्यस्तै स्वास्थ्य क्लिनिक, आयुर्वेदिक, आम्ची, होमियोप्याथी क्लिनिक लगायतका संस्थालाई स्थानीय तह वा स्थानीय तहले तोकेको निकायले इजाजत दिनसक्ने अधिकार गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ को अनुसूची ११ मा व्यवस्था गरिएको छ।

कानुनले स्पष्ट व्यवस्था गरे पनि सहरी क्षेत्रमा समेत यस्तो सुविधा सहज रुपमा उपलब्ध छैन। चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राममणि घिमिरेले नगरपालिका भित्र सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने तयारी गरेपनि तालिम प्राप्त जनशक्तिको अभावमा समस्या भएको बताउनुभयो।

नगरपालिकाले हरेक जसो समीक्षा बैठकमा सुरक्षित गर्भपन सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने गरेको छ। घिमिरेका अनुसार पुरानो नैकाप स्वास्थ्यचौकी र थानकोट स्वास्थ्यचौकीमा छिट्टै औषधिबाट सुरक्षित गर्भपतन सेवा दिने तयारी नगरपालिकाले गरेको छ। १० हप्ताभित्रको गर्भलाई औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन गराउन सकिने निर्देशिकाले अधिकार दिएको छ। यो काम तालिम प्राप्त नर्सले गर्न सक्छन्।

नगरपालिकाले शल्यक्रिया विधिबाट पनि सुरक्षित गर्भपतन सेवा प्रारम्भ गर्ने योजना भए पनि तालिम प्राप्त चिकित्सकको अभावमा काम अघि बढ्न सकेको छैन। घिमिरेले भन्नुभयो, ‘चन्द्रागिरी प्राथमिक अस्पतालबाट शल्यक्रिया विधिबाट सुरक्षित गर्भपतन सेवा दिने योजना बनाएका छौं। पाँच जना चिकित्सक पनि हुनुहुन्छ। तर, उहाँहरुलाई तालिम नहुँदा चाहेर पनि सेवा दिन सकेका छैनौं। ”
काठमाडौँकै तारेकेश्वर नगरपालिकाले हालसम्म पनि सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न सकेको छैन। नगरपालिकासँग औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन गराउने तालिम प्राप्त एक जना मात्रै नर्स छ। नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिनोदकुमार साहले भन्नुभयो, ‘उहाँपनि अन्य जिल्लाबाट सरुवा भएर आउनुभएको हो। अब नगपालिकाको वडा नम्बर ८ बाट यो सेवा प्रारम्भ गर्ने तयारी गरेका छौं।’

औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन गराउन नर्सले तीन दिनको तालिम तथा शल्यक्रिया विधिबाट सुरक्षित गर्भपतन गराउन चिकित्सकले न्युनतम एक हप्ताको तालिम लिनुपर्ने कानुनी प्रावधान छ।

केही स्थानीय तहले भने तालिम प्राप्त र सरकारी इजाजत प्राप्त स्वास्थ्य संस्थामा गएर मात्रै सुरक्षित गर्भपतन सेवा लिन अनुरोध गर्दै जनचेतनामुलक सामग्री प्रकाशन तथा प्रशारण गर्दै आएको छ। तर, कुन स्थानीय तहले के कस्ता अभियान सञ्चालन गरेका छन् भन्ने विषयमा आधिकारीक तथ्याङ्क कसैसँग पनि छैन। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाकी वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सुरक्षित गर्भपतन सेवाको अनुमति दिने अधिकार स्थानीय तहमा गएकोले तत्काल कति वटा संस्थाले यस्तो सुविधा दिइरहेका छन् र उनीहरुले के कस्ता अभियान चलाइरहेका छन् भन्ने विषयमा यकिन तथ्यांक नआएको बताउनुभयो।

स्वास्थ्य सेवा विभागका सूचना अधिकारी प्रेमकाजी महर्जनले असुरक्षित गर्भपतनबाट हुने जोखिम घटाउन सरकारले काम गरिरहेको बताउनुभयो। तर, स्थानीय तहमा यस्तो अधिकार गएपनि तालिम प्राप्त जनशक्तिको व्यवस्थापन, कार्यविधि निर्माण, भरपर्दो अनुगमन संयन्त्र निर्माण लगायतका काममा समय लाग्ने हुनाले सुरक्षित गर्भपतन सेवा प्रारम्भ गर्न केही समय लाग्नसक्ने उहाँले बताउनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?