बेलिना थापा
लमजुङ, चैत १८ गते । लमजुङमा चैत २५ गतेदेखि ३० गतेसम्म टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन हुनेभएको छ । टाइफाइड रोगविरुद्ध खोप अभियान २०७८–७९ अन्तर्गत लमजुङमा अभियान सञ्चालन हुन लागेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयले जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रका प्रतिनिधिलाई अभिमुखीकरण गराउँदै अभियानबारे जानकारी गराएको छ । देशभरी एक चरणमा २०७८ चैत २५ देखि २०७९ वैशाख १८ गतेसम्म सम्पन्न गर्ने भएपनि लमजुङमा चैत २५ देखि ३० गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनुभयो ।
उहाँकाअनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई १ मात्रा खोप लगाइनेछ । जिल्लाका ४१ हजार २ सय १६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । नियमित खोपमार्फत १५ महिनाको उमेरका सबै बालबालिकालाई १ मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन हुने दवाडीले बताउनुभयो ।
लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशत टाइफाइड हुनेगरेको छ । बिगत ३ वर्षको तथ्याङ्कअनुसार बर्षेनी करिव ३ हजारको सङ्ख्यामा बिरामी हुनेगरेका छन् । अभियानको क्रममा नियमित खोप कार्यक्रमलाई सुदृढीकरण गरी खोपको उपभोगदर बृद्धि गर्ने, अभियानको क्रममा २ वर्षमुनिका बालबालिकाको नियमित खोपमा दादुरा–रुबेला खोपको दोस्रो मात्रालगायत अन्य छुट खोपको पहिचान गर्ने, खोप अभियानपछि २ वर्ष मुनिका बालबालिकाको छुट खोप प्र्रदान गरी पूर्ण खोपको सुनिश्चितता र दिगोपना भएको यकिन गर्ने बताइएको छ ।
अभियानमा १५ महिनादेखि २३ महिनाको बच्चालाई बाँया तिघ्राबीच बाहिरी भागमा र २ वर्षदेखि १५ वर्षको व्यक्तिलाई बायाँ पाखुराबीच बाहिरी भागमा खोप लगाइने बताइएको छ । नियमित खोपमा १५ महिनामा दादुरा रुवेला दोस्रो मात्रा सँगै बाँया तिघ्राको बीच बाहिरी भागमा लगाइने छ ।
लक्षित सङ्ख्या मुख्यरुपमा करिव ८० प्रतिशत विद्यालयमा रहने भएकाले अभियान संस्थागत वा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ । बाह्य खोप केन्द्र भने विद्यालय नभएका वा कम भएका वडामा आवश्यकताअनुसार राखिनेछ । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले समृद्ध नेपाल सुखी नेपाली बनाउन खोप अभियानले मद्दत गर्ने बताउनुभयो ।
कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारी, प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला समन्वय अधिकारी तुलसीप्रसाद घिमिरे, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठ, डा. शरण लिम्बू, स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक निरोजकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति दीपक बराललगायतको उपस्थिति थियो ।