logo
२०८१ बैशाख १४ शुक्रवार



भेरी अस्पतालमा न्यूरोसेवा पुनः सञ्चालनमा

स्वास्थ्य |
प्रदेश |


भेरी अस्पतालमा न्यूरोसेवा पुनः सञ्चालनमा


सिराज खान
नेपालगञ्ज, चैत १८ गते । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा न्यूरोसेवा पुनः सुरु गरिएको छ । न्यूरोसेवा सुरु भएसँगै यस क्षेत्रका खासगरी विपन्न र गरिब विरामीले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउन थालेको बताएका छन् ।

नेपालगञ्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा आबद्ध वरिष्ठ न्यूरो सर्जन डा. जोशन न्यौपानेले भेरी असपतालमा आवद्ध भएलगत्तै सो सेवा पुनः शुरु गरिएको अस्पतालले जनाएको छ । पश्चिम नेपालकै रेफरल अस्पतालको रुपमा रहेको यो अस्पतालमा न्यूरो सम्बन्धी उपचारको अभाव रहेको भएपनि अब अभाव समाप्त भएको दावी गर्नुभयो । विरामीले उपचार पाउन थालेको भेरी अस्पतालका प्रमुख डा. विरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

बाँके बर्दियालगायत पश्चिम नेपालका विरामीले चर्को मूल्य तिरेर निजी अस्पताल वा छिमेकीमुलुक भारतमा उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो । पैसा नभएर न्यूरोसम्बन्धी उपचार पाउन समस्या भएको जनाउँदै बर्दिया राजापुरका रमेश थारुले भेरीमा सो उपचार शुरु हुँदा सहज भएको बताउनुभयो ।

सरकारी अस्पतालमै बसेर न्यूरो सेवा दिन पाउँदा खुसी लागेको बताउँदै वरिष्ठ न्युरोसर्जन डा. न्यौपानेले गरिव तथा विपन्न समुदायका लागि ठूलो राहात भएको बताउनुभयो । सरकारी अस्पतालमा आवश्यक जनशक्तिदेखि उपकरण जुटाउन अझै चुनौतीपूर्ण रहेकाले सोतर्फ आफु र अस्पताल विकास समिति निरन्तर लागेको बताउनुभयो ।

भेरी अस्पतालमा यसअघि न्यूरो सर्जन आए पनि केही समय बस्ने र फेरि फिर्ता हुनेगरेका कारण सो अस्पतालको न्यूरोसेवा नियमित हुन सकेको थिएन । जसकाकारण विरामीले महंगो शुल्क तिरेर निजिमा उपचार गराउनुपर्ने बाध्यता थियो । न्यूरो सेवा सुचारु राख्न आवश्यक पर्ने जनशक्तिसँगै उपकरणको व्यवस्थापनमा समेत सम्बन्धित निकायले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?