logo
२०८१ बैशाख १४ शुक्रवार



नगरपालिकाद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

स्वास्थ्य |
प्रदेश |


नगरपालिकाद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण


नारद कोहार
तौलिहवा, चैत २१ गते । कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पताललाई भेन्टिलेटरसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । सो एम्बुलेन्स गत माघ १८ गते नगरपालिकाले ७२ लाख २१ हजार १ सय ९३ रूपियाँमा खरिद गरेको थियो । एम्बुलेन्स नगरप्रमुख किरण सिंह र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादव र मेडिकल सुपरिटेण्ड डा.किशोर बन्जाडेलाई एम्बसलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

कोरोनाका सिकिस्त बिरामी र जटिलखालका बिरामीको उपचारमा सहजता ल्याउन आफूहरुले सो एम्बुलेन्स किनेर ल्याएको नगर प्रमुख सिंहले बताउनुभयो । उहाँले हस्तान्तरण गरिएको एम्बुलेन्सलाई अस्पतालले सही तरिकाले सञ्चालन गर्नुपर्ने बताउनुभयो । अस्पतालका लागि चाहिने अरु आवश्यक विषयमा पनि सहयोग गरिने नगर प्रमुख सिंहले प्रतिबद्धता जनाउनुभयो ।

काठमाडौंको प्राइम अटो टेक्स प्रालिले भारतबाट खरिद गरी सुनौली नाका हुदै नगरपालिकालाई उपलब्ध गराएको थियो । नगरपालिकाले जटिलखालका बिरामीलाई लक्षित गरी फोर्स कम्पनीको एम्बुलेन्स ल्याएको हो । सुबिधा सम्पन्न एम्बुलेन्स लुम्बिनी प्रदेशकै पहिलो भएको भन्दै मेसु बन्जाडेले अस्पतालमा बिरामीको उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लामै पहिलो पटक भेन्टिलेटरसहितको एम्बुलेन्स आएपछि नगरवसी खुशी भएका छन् । ‘जटिलखालका बिरामीहरु एम्बुलेन्सबाट लाभान्वित हुनेछन ’ समितिका अध्यक्ष यादवले भन्नुभयो । एम्बुलेन्स सञ्चालनका विषयमा समितिको निर्णय गरी कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?