logo
२०८१ बैशाख १५ शनिवार



कैलालीमा दुई लाखभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य |
प्रदेश |


कैलालीमा दुई लाखभन्दा बढी बालबालिकालाई  टाइफाइडविरुद्धको खोप लगाइँदै


चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत २२ गते । कैलालीमा भोलि बुधबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । १३ स्थानीय तह रहेको कैलाली जिल्लामा नौ सयभन्दा बढी केन्द्रबाट खोप लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

पहिलो चरणमा ७ वटा पालिकामा भोली २३ गतेदेखि र बाँकी ६ वटा पालिकामा २५ गतेबाट खोप कार्यक्रम शुरु गर्ने तयारी भएको जनस्वास्थ्य प्रमुख ललित धामीले बताउनुभयो । नियमित खोप कार्यक्रम चलेकाले पनि दुई चरणमा टाइफाइडविरुद्धको खोप कार्यक्रम राखिएको उहाँले बताउनुभयो । सबै स्थानीय तहका विद्यालयमा खोप केन्द्र राखिएको उहाँको भनाई छ ।

जिल्लामा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेवीका, स्वयंसेवक शिक्षकको सहयोगमा एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो । टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका तेहवटा स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य प्रमुख धामीले जानकारी दिनुभयो ।

टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुने भएपनि १५ वर्षमुनिका बालबालिकामा सङ्क्रमण डर बढी हुने भएकाले सरकारले खोप अभियान शुरु गरेको बताएको छ । सरकारको नीतिअनुसार सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको स्वास्थ्य प्रमुख धामीले बताउनुभयो ।

खोपका लागि जिल्लामा दुई लाख ४९ हजार बालबालिकाको रेकर्ड आएको भए पनि जिल्लाभर दुईलाख तीन हजार खोप पठाएको भए पनि अपुग भएकाका लागि खोप माग गरी सबै बालबालिकालाई खोप लागाउने कार्यक्रम रहेको धामीले बताउनुभयो ।

टाइफाइड रोगविरुद्धको खोप अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तह र वडास्तरसम्म राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तरक्रिया गरेको छ । अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सरोकारवाला पक्षले जनाएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताउनुभयो ।

घोडाघोडीमा भोलिदेखि १५ महिनादेखि १५ वर्षमुनिका करिब २० हजार बालबालिकालाई खोप लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिरा आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखापर्ने जनाइएको छ । खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?