काठमाडौं, चैत २४ गते । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा वर्सेनि वायु प्रदूषणबाट ३७ हजार र सूर्तिजन्य रोगका कारण २७ हजार जनाको अकालमै मृत्यु हुने गरेको छ ।
नेपाल जलवायु परिवर्तनको सन्दर्भमा उच्च जोखिममा रहेको र देशमा वायु प्रदूषण, जलवायु परिवर्तन प्रेरित प्रकोपहरु (बाढी, खडेरी, अत्यधिक गर्मीका कारण हुने वन डढेलो) र असुरक्षित पानीको प्रयोगले मृत्यु र रोगलाई बढावा दिने गरेको मन्त्रालयको भनाइ छ ।
प्रत्येक वर्ष हामीले रोक्न सकिने वातावरणीय असरका कारण संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु हुने तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसको मृत्यु वातावरणीय प्रभावका कारणले हुने गरेको हो ।
विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा विश्वमा हरेक वर्ष दशमध्ये नौ जनाले प्रदूषित हावामा श्वास फेर्ने र ७० लाख मानिसको ज्यान प्रदूषित हावामा श्वास फेर्नाले जाने गरेको उल्लेख छ ।
त्यस्तै विश्वमा दुई अर्ब मानिसले मात्र सुरक्षित पिउने पानी गरेकोमा साँढे तीन अर्बभन्दा बढी मानिस सुरक्षित सरसफाईको अभावमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण हुने झाडापखाला रोगबाट आठ लाख २९ हजार नागरिकको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।
मन्त्रालयले जलवायू परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरुलाई सम्बोधन गर्नका लागि विभिन्न पहलहरु भइरहेको जनाएको छ । राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गरेको मन्त्रालयको दावी छ ।
सरकारले हालै सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता जनाएको थियो ।
नेपालले पेन्टमा हुने सिसाको मात्रा ९० पीपीएम तोकेर बाध्यकारी मापदण्ड लागू गरिे कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको सरकारले जनाएको छ । मर्करीको प्रयोगबाट स्वास्थ्यमा हुने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालले सन २०२० मा गर्भवती, स्तनपान गराउने महिला र १५ वर्ष मुनिका बालबालिकालाई तत्काल लागू हुनेगरी र अन्यलाई पाँच वर्षभित्र डेन्टल अमल्गमको प्रयोग निषेध गर्न निर्देशिका जारी गरेको थियो ।
स्वास्थ्य सेवा संस्थाहरुमा स्वच्छ पानी र सरसफाईमा पहुँच सुनिश्चिता गर्न आवश्यक सेवामा लगानी बढाउन जरुरी रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रतिबद्धता अनुसार जलवायु परिवर्तन, वायुको गुणस्तर, रासायनिक सुरक्षा, सरसफाइ जस्ता उदीयमान वातावरणीय स्वास्थ्यसँग सम्बन्धित दिगो विकासका लक्ष्यहरु सन् २०३० सम्ममा हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ । यस वर्ष सरकारले नेपालमा वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ २४ चैतमा विश्व स्वास्थ्य दिवस मनाउँदैछ।