logo
२०८१ बैशाख २३ आईतवार

  टाइफाइड विरुद्धको खोप अभियान सुरु  



टाइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने

स्वास्थ्य |


टाइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने


काठमाडौं, चैत २५ गते । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ ।
नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त खोप अभियान अभियान आजबाट वैशाख १८ गतेसम्म चल्नेछ ।
खोप लगाउने निश्चित मिति र स्थानको बारेमा जानकारी स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यो खोप अभियानपछि टाइइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने मन्त्रालयले जनाएको छ।
सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ । नेपालका सम्पूर्ण बालबालिकालाई विभिन्न सरुवा रोगको विरुद्ध सुरक्षा प्रदान गर्न खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बालमुत्युदर घटाउन नियमित रुपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरकारले पोलियो,दादुरा, हेपाटाइटिस बि, लहरेखोकी, धनुष्टंकार, निमोनिया जापानिज इन्सेफलाइटिस विरुद्ध खोप कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
राष्ट्रिय खोप तालिका अनुसार कुन उमेरमा कुन खोप दिइन्छ
जन्मने बित्तिकै
राष्ट्रिय खोप तालिका अनुसार सरकारले बालबालिका जम्मने बित्तिकै बि सि जी खोप लगाउने गर्छ । यो बालबालिका जन्मने बितिकै स्वास्थ्य संस्थाहरुमा बच्चाको दायाँ पाखुराको माथिल्लो भागको छालाभित्र लगाइन्छ । यो खोपले क्षयरोगबाट बचाउछ ।
जन्मिएको ६ हप्तामा
खोप तालिका अनुसार जन्मिएको ६ हप्तामा डि पि टी हेप बी हिब खोप दिइन्छ । उक्त खोप बायाँ तिघ्राको मध्य बाहिरी भाग मासुमा लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी धनुष्टंकार, हेपाटाइटिस बी र हेमाफिलस इन्फ्लुइन्जा बी रोगबाट बचाउँछ ।
पोलियो पोलियो बालबालिकालाई मुखबाट खुवाइन्छ । यसले पोलियो रोगबाट बचाउँछ ।
पीसीभी पहिलो मात्रा खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यसले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको १० हप्तामा
जन्मिएको १० हप्तामा डीपीटी हेप बी हिब खोप लगाइन्छ । यो बच्चाको बाँया तिघ्राको मध्य बाहिरी भागको मासुमा लगाइन्छ । यसले भ्यागुते रोग, लहरे खोकी,धनुष्टंकार,हेपाटाइटिस बी र हेमोफिलस इन्फलुन्जा बी रोगबाट बचाउँछ ।
जन्मिएको १० हप्तामा बच्चालाई पोलियो मुखबाट खुवाइन्छ यसले पोलियो रोगबाट बचाउँछ ।
पीसीभी दोस्रो मात्रा खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यसले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको १४ हप्ता
जन्मिएको १४ हप्तामा डीपीटी हेप बी हिब तेस्रो मात्रा खोप दिइने खोप तालिकामा उल्लेख गरिएको छ। यो खोप बच्चाको बायाँ तिघ्राको मध्य बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी र हेमोफिलस इन्फलुन्जा बी रोगबाट बचाउँछ ।
जन्मिएको १४ हप्तामा बच्चालाई पोलियो मुखबाट खुवाइन्छ यसले पोलियो रोगबाट बचाउँछ ।
आई पि भी खोप लगाइन्छ । यो खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले पोलिया रोगबाट बचाउँछ ।
जन्मिएको ९ महिनामा
जन्मिएको ९ महिना पीसीभी तेस्रो मात्रा खोप लगाइने खोप तालिकामा उल्लेख गरिएको छ । उक्त खोप बच्चाको दायाँ तिघ्राको बीच बाहिरी भागको मासुमा लगाइन्छ । यो खोपले निमोनिया रोगबाट बचाउँछ ।
जन्मिएको नौ हप्तामा दादुरा रुबेला पहिलोमात्रा खोप लगाइने खोप तालिमाका उल्लेख गरिएको छ । उक्त खोप बच्चाको बाँया पाखुराको माथिल्लो भागको छाला र मासकोु बीचमा लगाइन्छ । यस खोपले दादुरा र रुबेला रोगबाट बचाउँछ ।
जन्मिएको १२ महिनामा
जन्मिएको १२ महिनामा जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइने खोप तालिकामा उल्लेख गरिएको छ। उक्त खोप बच्चाका दायाँ तिघ्राको माथिल्लो बाहिरी भागको छाला र मासुको बीचमा लगाइन्छ । यस खोपले जापानिज इन्सेफलाइटिस रोगबाट बचाउँछ ।
जन्मिएको १५ महिनामा
जन्मिएको १५ महिनामा दादुरा रुबेलाविरुद्धको दोस्रो मात्रा खोप लगाइन्छ । उक्त खोप बच्चाको बायाँ पाखुराको माथिल्लो भागको छाला र मासुको बीचमा लगाइन्छ । यो खोपले दादुरा र रुबेला रोगबाट बचाउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?