logo
२०८१ बैशाख १७ सोमवार



पाल्पामा ७१ हजारभन्दा बढीलाई टाइफाइटविरुद्धको खोप लगाइने

स्वास्थ्य |


पाल्पामा ७१ हजारभन्दा बढीलाई टाइफाइटविरुद्धको खोप लगाइने


रेखीराम राना
पाल्पा, चैत २५ गते । जिल्लामा पहिलो र दोस्रो दिन २९ हजारभन्दा बढीले टाइफाइडविरुद्धको खोप लगाएका छन् । खोप अभियानअन्तर्गत पहिलो र दोस्रो दिन २९ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाको दुई पालिकामा बाहेक आठ वटा पालिकामा चैत २३ गतेदेखि नै टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको हो । खोप अभियान चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

१५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पहिलो दिन २९ हजार ८५८ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लाभर ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । जिल्लाको तिनाउ र बगनासकालीमा परीक्षाका कारण चैत २५ गतेदेखि खोप लगाइने उहाँले बताउनुभयो ।

जिल्लाभर टाइफाइडविरुद्धको खोपलाई प्रभावकारी बनाउन गाविसको प्रत्येक वडामा एउटा खोप केन्द्र हुने गरी खोप केन्द्रको व्यवस्था गरिएको खोपका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो ।जिल्लामा लक्ष्य अनुसार खोप हरेक बालबालिकामा पु-याउने उद्देश्य अनुरुप स्वास्थ्यकर्मी, नागरिक, शिक्षक, स्वायम्सेवकलाई खटाइएको उहाँले बताउनुभयो ।

यसैगरी, यस वर्ष पाल्पाबाट चार हजार ८३९ जना विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका अनुसार जिल्लाका विभिन्न २६ केन्द्रबाट चार हजार ८३९ जना एसईई परीक्षामा सहभागी हुने भएका हुन् ।

एसईई परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी गरिएको शिक्षाका प्राविधिक सहायक बमबहादुर थापाले बताउनुभयो । यसवर्ष पाल्पाबाट फरक क्षमताका अपाङ्गता भएका परीक्षार्थीहरू नभएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो । पाल्पाबाट प्राविधिक ग्रेडतर्फ २२१ जना र ग्रेडवृद्धि तर्फ ५८ जना विद्यार्थी परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?