logo
२०८१ बैशाख १४ शुक्रवार



समयसँगै मानिसको अभिन्न अङ्ग जस्तै बन्याे कुकुर

स्वास्थ्य |
समाज |


समयसँगै मानिसको अभिन्न अङ्ग जस्तै बन्याे कुकुर


काठमाडौं, चैत २६ गते । बदलिँदो परिवेश र सहरी क्षेत्रमा कुकुर मानिसको अभिन्न अङ्ग जस्तै बनेको छ । सेना र प्रहरीलगायतले पनि कुकुरलाई विभिन्न तरिकाले प्रयोग गर्दै आएका छन् । फेरि पनि धेरैको घरमा प्रायः कुकुर पालिएको हुन्छ । कुकुर पाल्नु मानिसको आफ्नै सौख र आवश्यकता हो ।

अहिले मानिस एकल परिवारमा बस्न रुचाउँछन् । तर एकल परिवारमा बच्चालाई तनाव हुन्छ । त्यो तनाव कुकुुरजस्ता जनावर घरमा छन् भने केही हदसम्म बच्चामा तनावको अवस्था कम गर्न सहयोग गर्ने हुन्छ । कुकुर यस्तो जनावर हो । जो गाली गरे पनि माया गर्छ । साथीको रुपमा व्यवहार गर्छ । हरेक समय साथी खोज्छ । त्यसकारण घरमा कुकुर र बिरालो पाल्ने चलन आएको वरिष्ठ पशुचिकित्सक डा. शङ्कर पाण्डेले बताउनुभयो । उहाँका अनुसार सामान्यः एक–दुई वटा घर पालुवा जनावर पाल्नेलाई त्यस्तो निश्चित नियम हुँदैन ।

व्यावसायिकरुपमा पाल्नेलाई भने दर्ता गरेर कर तिर्नुपर्छ । यसरी कुकुर पाल्दा स्याहार्न नसकेमा छाडा छाड्ने हुन्छ र त्यसले समस्या सिर्जना हुन्छ । कुकुरको बन्ध्याकरण नेपाल सरकारको स्वीकृत कार्यविधि अनुसार कुकुरलाई बन्ध्याकरण गर्ने नियम छ । कुकुरको टोकाइबाट हुने विभिन्न रोगको जोखिमलाई दृष्टिगत गरी यो नियम लागू गरिएको हो ।

डा. पाण्डेकाअनुसार विशेष गरी कुकुरहरुको टोकाइबाट लाग्ने रोग रेबिजको नियन्त्रण गर्ने उद्देश्यले कुकुरको बन्ध्याकरण गर्नुपर्ने हुन्छ । कुकुरको सङ्ख्या पनि घटाउनुपर्ने हुन्छ । यसका लागि सबैभन्दा पहिलो उपाय नै खोप हो । दोस्रोमा कुकुरको सङ्ख्या घटाउने हो । कुकुरको बन्ध्याकरण गर्न लगभग १५ देखि ३५ सय रुपियाँसम्म खर्च लाग्ने हुन्छ । भाले कुकुरलाई बन्ध्याकरण गर्नुपरेमा १५ देखि दुई हजारसम्म खर्च हुन्छ भने पोथी कुकुरलाई बन्ध्याकरण गर्नुपरेमा तीन हजारदेखि ३५ सयसम्म खर्च हुने डा. पाण्डेको भनाइ छ ।

कुकुरसँग हुर्केका बच्चा र कुकुर नहुने बच्चाको व्यवहारमा फरक कुकुर सामाजिक प्राणी रहेकाले पाल्ने नियम रहेको पशुविज्ञ डा. शरदसिंह यादवले बताउनुभयो । उहाँका अनुसार बदलिँदो समयमा कुकुरको महत्व बढेको छ । तर यसको महत्व बढेको भन्दै जथाभावी पालेर कुकुरलाई छोड्ने कारणले विभिन्न किसिमका समस्या उत्पन्न हुने गरेको छ । कतिपय कुकुुरको कारणले कोभिड जस्तो प्राणघातक रोग फैलिएकाले यसको नियन्त्रण गर्नुपर्ने हुन्छ । डा. यादवका अनुसार कुकुर नै मानिसको असल मित्र हो । यसको इतिहास छ ।

कुकुर पालेको घरमा रहेको बच्चाको व्यवहार र नपालेको घरको बच्चाको व्यवहारबाट कुकुरको फाइदा र बेफाइदा थाहा हुने हुन्छ । जुन कुकुरसँग हुर्केका बच्चा र कुकुर नहुने बच्चाको व्यवहार नै फरक हुन्छ । त्यस्तो बच्चामा पछिसम्म केयर गर्ने स्वभाव फरक हुन्छ । एक्लोपन हुँदैन, साथी हुन्छ । यस्ता कुराहरु पौराणिक कथाहरुमा पनि हेर्न सकिने डा. यादवको भनाइ छ । कुकुरलाई सेना र प्रहरीले पनि विभिन्न समयमा युद्ध, ग्रहहरुको परीक्षणलगायतका कामका लागि कुकुरलाई प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

कुकुर मानिसको सबैभन्दा मिल्ने साथी भए पनि कुकुरबाट सर्ने रोगको उच्च जोखिम पनि हुन्छ । त्यसकारण कुकुर पाल्नुभन्दा पहिले पशुचिकित्सकसँग सल्लाह गरेर मात्रै कुकुर पाल्न सुझाव दिनुहुन्छ पशुचिकित्सक डा. शरदसिंह यादव । उहाँका अनुसार कुकुर पालेर मात्रै हुँदैन । यसको लागि हेरचाह आवश्यक हुन्छ । त्यसका लागि बजेटको आधारमा कुकुर पाल्न उहाँको सुझाव छ ।

कुकुर र मानिसको सम्बन्ध करिब नौ हजार वर्ष 

युरोप र एसियातर्फ लागेकाहरुले आफ्ना जनावर तथा खेती किसानीका ज्ञान पनि साथै लगेको देखिन्छ । युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डिएनएको परीक्षणबाट त्यस्तो पत्ता लागेको हो । युरोपमा पुगेपछि त्यहाँ पहिलेदेखि रहेका कुकुरसँग तीनको संसर्ग भयो । त्यसले जीणपुलमा आनुवंशीय परिवर्तन भयो ।

शताब्दीयौँसम्म त्यसरी संसर्गहरू भएपछि हालका जस्ता विभिन्न आकार र प्रकारका कुकुरहरूको विकास भएको मानिन्छ । उक्त अनुसन्धान विवरण ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित छ । कुकुरमा १२ प्रकारको रक्त समूह कुकुर तथा बिरालोहरुमा समेत मानिसकै जस्तै फरक फरक प्रकारको ब्लड ग्रुप हुन्छ ।

कुकुरमा १२ प्रकारको रक्त समूह

कुकुरमा १२ प्रकारको रक्त समूह हुन्छ भने बिरालोमा तीन प्रकारको रक्त समूह हुन्छ । कुकुर र बिरालोमा मात्र होइन, गाई, भैंसी, हात्ती, घोडा, खच्चड कुनै पनि जनावर पाल्नका लागि नेपालमा निश्चित मापदण्ड छैन । कर तिर्नुपर्दैन । तर त्यही जनावरहरुलाई व्यावसायिकरुपमा पाल्ने हो भने दर्ता गरेर निश्चित मापदण्ड पालन गर्नुपर्ने हुन्छ । घर पालुवा कुकुर र बिरालोको लागि बन्ध्याकरण भने महँगो रहेको डाक्टर पाण्डेको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?