logo
२०८१ बैशाख १७ सोमवार



गुल्मीमा ६८ हजारभन्दा बढीलाई टाइफाइडविरुद्धको खोप

स्वास्थ्य |


गुल्मीमा ६८ हजारभन्दा बढीलाई टाइफाइडविरुद्धको खोप


तिलाचन पाण्डे
तम्घास,चैत २६ गते । गुल्मीमा ६८ हजार छ सय बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको अर्जुन आवसीय माध्यमिक विद्यालयबाट टाइफाइडविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।

खोपको शुक्रबार शुभारम्भ गर्नुहुँदै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले खोपलाई प्रभावकारी बनाएर लक्षित समूहसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । सबै संयन्त्र परिचालन गरेर लाभग्राही तथा लक्षित समूहलाई अनिवार्य रुपमा खोप लगाउनुपर्ने र कोही पनि छुटन नहुने उहाँको भनाइ छ ।

नेपालमा अहिले एक लाखमा एक हजार ६२ र १५ वर्ष मुनिका एक लाख बालबालिकामा १० हजार ९६० जनामा टाइफाइडको सङ्क्रमण भेटिएकोले लक्षित समूहको रुपमा बालबालिकालाई राखेर खोप लगाउन थालिएको हो ।

गुल्मीमा एक जना स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वंमसेविका र एक जना विद्यालयकी शिक्षिकालाई खोप केन्द्रमा खटाएर खोप दिइने छ ।

खोपको ९६ दशमलव ९५ प्रतिशत प्रभाव रहेको अध्ययनले देखाएको छ । स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत स्वास्थ्यचौकीका इञ्चार्जहरुले आफ्नो वडामा लाभग्राहीलाई अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय गुल्मीले निर्देशन दिइसकेको कार्यालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?