logo
२०८१ बैशाख १४ शुक्रवार



बाँकेमा करिब ९५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए

स्वास्थ्य |
प्रदेश |


बाँकेमा करिब ९५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए
बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाईंदै । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, चैत २६ गते । टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा तीन दिनमा ६३ प्रतिशत बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका एकलाख ४८ हजार ९३३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा ९४ हजार ८३६ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बुधबारबाट शुरु गरिएको सो अभियान अन्तर्गत जिल्लाका ८१ वटै वडामा विद्यालय तथा स्वास्थ्य संस्थामा २६४ वटा खोप केन्द्र राखेर खोप लगाउने कार्य जारी छ ।

स्वास्थ्य कार्यालयका अनुसार खोप लगाउनेमा सबैभन्दा बढी कोहलपुरमा छन् । कोहलपुरमा तीन दिनमै ९६ प्रतिशत बालबालिकाले खोप लगाइसकेका छन् । कोहलपुरमा २० हजार १४२ जना बालबालिकालाई खोप दिने लक्ष्य रहेकोमा हालसम्म १९ हजार ४४६ जनाले खोप लगाइसकेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कम खोप लगाउनेमा खजुराका बालबालिका छन् । सो पालिकाका हालसम्म २५ प्रतिशत बालबालिकाले मात्र खोप लगाएका छन् । खजुरामा १६ हजार ३४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म ४ हजार १३५ जनाले मात्र खोप लगाएका छन् ।

हालसम्म खोप लगाउनेहरुमा १५ महिनादेखि २३ महिनासम्मका तीन हजार ६७ बालबालिकाले र साे उमेरसमूहदेखि १५ वर्षसम्मका ९४ हजार ८३६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
खोप अभियानमा विद्यालय र अभिभावकको उत्साहपूर्ण सहभागिता रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो । उहाँले चैत २८ गतेभित्र लक्ष्य सम्पन्न हुने देखिएको बताउनुभयो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?