logo
२०८१ बैशाख १२ बुधवार



मधेस प्रदेशमा टाइफाइडविरुद्ध खोप अभियान सुरु

स्वास्थ्य |
प्रदेश |


मधेस प्रदेशमा टाइफाइडविरुद्ध खोप अभियान सुरु


स्मृति मिश्र
जनकपुरधाम, चैत २७ गते । मधेस प्रदेशमा टाइफाइडविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । चैत २५ गतेबाट सुरु भएर वैशाख १८ गते सम्पन्न गर्नुपर्ने खोप अभियान प्रदेशका पाँच वटा जिल्लामा आरम्भ भएको छ । प्रादेशिक राजधानीसमेत रहेको धनुषामा वैशाख ८ बाट अभियान सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले बताउनुभयो ।

प्रदेशको सप्तरी, सिरहा, महोत्तरी, बारा र रौतहटमा खोप अभियान सुरु भएको छ । अन्य ठाउँमा निर्धारित अवधिभित्रै सुरु गर्न आवश्यक गृहकार्य भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेर समूहका शिशु तथा बालबालिकामा लगाइँदैछ । पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानले गरेको एक सर्वेक्षणमा यस उमेर समूहमा टाइफाइडको एघार गुना बढी जोखिम रहेको र अस्पतालमा भर्ना हुने बिरामीमध्ये चौथो कारण टाइफाइड नै रहेको चिकित्सकहरुको भनाई छ । नेपालको राष्ट्रिय खोप समन्वय समितिले सन् २०१७ मा नै खोप अभियान सञ्चालन गर्ने सिफारिस गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० मा स्वीकृति दिएपछि नेपालमा टाइफाइडविरुद्धको खोप अभियान यस वर्ष अर्थात् सन् २०२२ मा आरम्भ भएको छ । नेपालमा टाइफाइडविरुद्धको खोप लगाउनु पर्ने उमेर समूहका शिशु तथा बालबालिका ७५ लाख रहेको अनुमान गरिएको छ । सर्ने रोगलाई खोपमार्फत निर्मूल गर्ने जनस्वास्थ्यसम्बन्धी लक्ष्यका आधारमा टाइफायडविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

पहुँच, सम्भाव्य, स्वीकार्य तथा धान्न सक्ने स्थानका आधारमा खोप लगाइने अभ्यासअनुरूप विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहका सबै वडामा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिनुभयो । यस वर्ष अभियानका रूपमा सञ्चालन भएपछि आगामी वर्षबाट सरकारले टायफाइडविरुद्धको खोप नियमित कार्यक्रममा समावेश गर्ने बताएकोछ ।
दूषित खाना र पानी तथा दिसाको सम्पर्कमा आएपछि साल्मुनेला टाइफी र पाराटाइफी एबीसी नामक ब्याक्टेरिया शरीरमा प्रवेश गरेपछि व्यक्ति टाइफाइडबाट संक्रमित हुनेगर्छ । टायफाइड संक्रमणमा परेकाहरू उच्चज्वरो, झाडापखाला, भ्रम आदिजस्ता जटिलता बढ्दा आन्द्रामा प्वाल परी बेहोस हुने र मृत्युसम्म हुनेगर्छ ।

यसअघि क्षयरोगविरुद्ध बिसिजी, भ्यागुतो रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाइटिस बी (जन्डिस) र निमोनिया गरी पाँच वटा रोगविरुद्ध डिपिटी, पोलियो रोगविरुद्ध पोलियो, निमोनियाविरुद्ध पिसिभी र एफआइपिभी, दादुरा र रुबेलाविरुद्ध एमआर र जापनिज इन्सेफ्लाइटिस जेई खोपसम्बन्धी नियमित कार्यक्रम नेपालमा सञ्चालन भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?