logo
२०८१ मंसिर १२ बुधवार



टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड  

अन्तर्राष्ट्रिय |


टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड  


वासिङ्टन, भदौ ५ गते ।  अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ ।    

टेक्सास राज्यमा यसै वर्ष गम्भीर अपराधको अभियोगमा योसहित चार जनालाई मृत्युदण्ड दिइएको छ ।    

टेक्सासको हन्ट्सभिल कारागारमा अभियुक्त ल्यारी स्वेरिनजेनलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको कारागार प्रशासनले जनाएको छ ।    

अमेरिकी संचार माध्यमका अनुसार ४८ वर्षीय ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरिरहेका थिए । ल्यारीका वकीलहरुले पीडितको डिएनए सही नभएको जिकिर गरेका थिए ।

अमेरिकी सर्वोच्च अदालतले ल्यारीको अनुरोधलाई बुधबार नै अस्वीकार गरेको थियो ।    

दी ह्यूस्टन क्रोनिकलका अनुसार १९ वर्षीया मेलिसा ट्रटरलाई सन् २००० मा बलात्कार गरी हत्या गरेको आरोपमा ल्यारी पक्राउ परेका थिए ।    

अमेरिकामा यस वर्ष १२ जनाले मृत्युदण्ड पाइसकेका छन् । यी मृत्युदण्डहरु अमेरिकाका दक्षिणी राज्यहरु टेक्सास, टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडामा भएका छन् । (रासस-एएफपी)   

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?