logo
२०८१ असोज ३ बिहीवार



अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान


काबुल, कात्तिक ४ गते । युरोपेली संघका अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो ।
इयुका अधिकारीहरुले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीहरूसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाउनु भएको थियो । तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गर्नुभएको थियो । त्यसलगत्तै तालिबानप्रति निकै आक्रोशित हुनुभएका उहाँले तालिबान लडाकूहरुसँगको वार्ता मृतप्रायः भएको बताउनु भएको थियो ।

अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गर्नु भएको थियो । यस युद्धविरामबाट तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र यदि यसो हुन सक्यो भने त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । अफगानिस्तानका लागि इयूका विशेष दूत रोलान्ड कोबियाले वार्ताले युद्धविरामको लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । उहाँले यसले वार्तालाई पुनः सुरु गर्ने बारे छलफल गर्ने पनि बताउनुभएको समाचारमा जनाइएको छ । ‘युद्धविरामका लागि यो उचित र सही क्षण हो ।

हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो’ उहाँले भन्नुभएको छ । कोबियाले काबुलका पत्रकारहरूसमक्ष भन्नु भएको छ– यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ र यसलाई अफगानिस्तान सरकार र तालिबानहरुले पनि उचित अवसरका रुपमा लिन सक्नुपर्छ ।

यसैबीच अफगानिस्तानमा हिंसा भने निरन्तर रुपमा नै जारी रहेका समाचारहरु आइरहेका छन् । गत शुक्रवार मात्र पनि नन्गाहार प्रान्तमा अवस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो । त्यस यता पनि छिटपुट रुपमा हमलाका घटनाहरु हुने गरेका छन् । अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानले विशेषगरी सुरक्षाकर्मी र सर्वसाधारणलाई पनि तारो बनाउने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?