logo
२०८१ असोज ४ शुक्रवार



प्रदर्शनकारीद्वारा बगदादस्थित अमेरिकी दूताबास ‘उडाउने’ प्रयास

अन्तर्राष्ट्रिय |


प्रदर्शनकारीद्वारा बगदादस्थित अमेरिकी दूताबास ‘उडाउने’ प्रयास


एजेन्सी
काठमाडौं, पुस १५ गते । प्रदर्शनकारीले इराकको बगदादस्थित अमेरिकी दूताबास उडाउने प्रयास गरेका छन् । दूताबासको पर्खाल नाघेर प्रदर्शनकारी दोस्रो घेराको ढोकामा क्षति पुर्याएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानलाई समर्थन गर्ने ‘मिलिसिया’ समूहलाई लक्षित गरी अमेरिकाले इराकमाथि हवाइ आक्रमण गरेपछि प्रदर्शनकारीले अमेरिकी दूताबासलाई निशाना बनाएका हुन् । सयौंको संख्यामा रहेका इरानलाई समर्थन गर्ने प्रदर्शनकारीले राजधानी बगदादमा हिंडडुल गर्न बन्देज लगाइएको क्षेत्रमा प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा देखिएको भिडियोमा प्रदर्शनकारीले अमेरिकी दूताबासको झ्याल फोड्दै दूताबास प्राङणबाहिर तोडफोड गरिरहेको सीएनएनले जनाएको छ ।
अमेरिकाले आइतबार गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको थियो । अन्य ५० जना घाईते भएका थिए । ‘कतेब हज्बुल्लाह’ नियन्त्रित मिलिसिया समूहलाई लक्षित गरी अमेरिकाले इराक र सिरियामा एकैपटक आक्रमण गरेको थियो । अमेरिकाले किरकुकस्थित सैन्य अखाडालाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो । जहाँ एकजना अमेरिकी ठेकेदारको हत्या गरिएको थियो ।
बीबीसीका अनुसार हवाई आक्रमणपछि इराकका प्रधानमन्त्री अदेल अब्दुल महदीले हवाई आक्रमणले इराकको सार्वभौमिकताको उल्लंघन गरेको बताउनुहुँदै अमेरिकासँगको सम्बन्ध खतरामा रहेको प्रतिक्रिया दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?