logo
२०८१ असोज ४ शुक्रवार

  अमेरिका इरान तनाव 



सांस्कृतिक सम्पदामा आक्रमण गर्ने ट्रम्पको भनाईको सर्वत्र आलाेचना

अन्तर्राष्ट्रिय |


सांस्कृतिक सम्पदामा आक्रमण गर्ने  ट्रम्पको भनाईको सर्वत्र आलाेचना


एजेन्सी
काठमाडौं, पुस २२ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानको सांस्कृतिक सम्पदाहरुमाथि आक्रमण गर्ने धम्कीको आलोचना गरिएको छ । अमेरिकी ड्रोन आक्रमणमा इरानी कमाण्डर कसिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले अमेरिकाले पहिचान गरेको ५२ लक्ष्यमध्ये सांस्कृतिक स्थल पनि रहेको जनाउनुभएको थियो । तर संयुक्त राष्ट्र संघको सम्पदा संगठन र बेलायतको विदेश सचिबले उक्त स्थलहरु संरक्षित रहेको टिप्पणी गर्नुभएको थियो । यूनेस्कोको महानिर्देशक औड्रे अजाउलेले अमेरिका र इरान दुबैले १९७२ को विश्वका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने सन्धिमा हस्ताक्षर गरेको प्रतिक्रिया दिनुभयो ।
अमेरिकाको डेमोक्रयाट सिनेटर एलिजाबेथ वार्रेन र क्रिस मर्फीले ट्रम्पले युद्ध अपराध गर्ने धम्की दिनुभएको टिप्पणी गर्नुभयो । जुन भनाइलाई इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले पनि दोहोरयाउनुभएको छ ।
बेलायती विदेश सचिब डोमिनिक राबले सांस्कृतिक स्थलहरु अन्तर्राष्ट्रिय कानूनबाट संरक्षित रहेको टिप्पणी गर्नुहुँदै बेलायतले त्यसको पालना हुनुपर्ने अपेक्षा राखेको प्रतिक्रिया दिनुभयो ।
इरान र अमेरिका दुबैले युद्धको समयमा पनि सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने महासन्धिमा हस्ताक्षर गरेका छन् र उक्त सन्धिको उल्लंघन गरिए अन्तर्राष्ट्रिय कानून बमोजिम युद्ध अपराध ठहरिनेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार एकपछि अर्को ट्वीट गर्ने क्रममा ५२ लक्ष्य पहिचान गरिएकोमा इरान र उसको संस्कृतिका लागि महत्वपूर्ण सम्पदा स्थल पनि उक्त सूचीमा रहेको उल्लेख गर्नुभएको थियो । तर अमेरिकी स्टेट सेक्रेटरीले उक्त कथनको बचाउमा अमेरिकाले अन्तर्राष्ट्रिय कानूनको पालना गर्दै कारबाही गर्ने बताउनुभएको थियो ।
लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले अर्को ट्वीट गर्दै लेख्नुभएको थियो, “उनीहरुलाई हाम्रो जनता मार्ने अनुमति छ, मानसिक तनाब दिने अनुमति छ, सडक छेऊमा बम पड्काउने अनुमति छ र हाम्रो जनतालाई उडाउने अनुमति छ तर हामीलाई उसको सम्पदा छुने अनुमति नहुने ?, यसरी चल्दैन् ।”
तर सोमबार व्हाइट हाउसकी सल्लाहकार केलीनि कोन्वेले राष्ट्रपति ट्रम्पको भनाईबारे उहाँले सबाल मात्रै गर्नुभएको भन्दै प्रतिरक्षा गर्नुभयो ।
इरानमा छैठौं शताब्दीमा निर्मित सम्पदाहरुसँगै पर्सियन सभ्यताका संरक्षित स्थलहरु अझै विद्यमान छन् जुन विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?