logo
२०८१ असोज ४ शुक्रवार



इरानमाथि अमेरिकी सैन्य कारबाहीको सम्भावना टर्यो, थप प्रतिबन्ध लगाइने

अन्तर्राष्ट्रिय |


इरानमाथि अमेरिकी सैन्य कारबाहीको सम्भावना टर्यो, थप प्रतिबन्ध लगाइने


एजेन्सी
काठमाडौं, पुस २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने बताउनुभएको छ । इरानले आफ्नो कमाण्डर जनरल कसिम सुलेमानीको हत्याको प्रतिशोधमा इराकको इर्बिल र अल असदस्थित दुई अमेरिकी सैन्य शिविरमाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो । अमेरिकाले जवाबमा सैन्य कारबाहीको घोषणा गर्ने आँकलन भइरहँदा राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।
व्हाइट हाउसमा केही बेर अगाडि अमेरिकी नागरिकलाई सम्बोधनको क्रममा राष्ट्रपति ट्रम्पले इरानी आक्रमणबाट कुनै प्रकारको मानवीय एवम् सैन्य क्षति नभएको प्रष्ट्याउनुभयो । इरानले भने क्षेप्यास्त्र आक्रमणमा ८० अमेरिकी सैनिकको मृत्यु भएको दाबी गरेको थियो । इराकस्थित सैन्य शिविरमा आक्रमण गरेर इरान तल परेको ट्रम्पले दाबी गर्नुभयो ।
२०२० मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले आफू नेतृत्वको प्रशासनमा अमेरिकाको इन्धनमा मध्यपूर्वमाथिको निर्भरता पूर्णरुपमा हटेको बताउनुभयो ।
अमेरिकी सेना प्रमुख, रक्षा विभाग प्रमुखसहित पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका ट्रम्पले इरान पूर्णरुपमा परमाणु निशस्त्रीकरणको पक्षमा जानुपर्ने बताउनुभयो । अमेरिका सभ्य समाज निर्माणको लागि विश्वबाट आतंकवाद हटाउन लागिपरेको थप्नुभयो । सम्बोधनको अन्त्यमा उहाँले इरानी जनता र सत्ता समक्ष सुन्दर, शान्त भविष्यको कल्पना गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?