logo
२०८१ असोज ४ शुक्रवार



ओमानका अविवाहित सुल्तान कबुसको देहान्त, उत्तराधिकारी को ?

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


ओमानका अविवाहित सुल्तान कबुसको देहान्त, उत्तराधिकारी को ?


एजेन्सी
काठमाडौं, पुस २६ गते । ओमानका सुल्तान कबुस बिन सईद अल सईदको देहान्त भएको छ । ७९ वर्षीय कबुस सबैभन्दा लामो समय शासन गर्नुभएका सुल्तान हुनुहुन्थ्यो । उहाँले करीब पाँच दशकसम्म ओमानको शासन सत्तामा वर्चश्व राख्नुभयो ।
ओमानका सुल्तान कबुस अविवाहित हुनुहुन्थ्यो । उहाँको कुनै उत्तराधिकारी छैन् । ओमानले सुल्तान कबुसको मृत्युमा तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । १९७० मा बेलायतको सहयोगमा कबुसले आफ्नो बुवाबाट ओमानको सत्ता आफ्नो हातमा लिनुभएको थियो । शासन सत्ता आफ्नो हातमा लिएपछि उहाँले ओमानको विकासलाई प्रमुख प्राथमिकतामा राखेर राज्य सञ्चालन गर्नुभयो ।
बीबीसीका अनुसार ओमानको राजपरिवारमा हाल ५० जना पुरुष सदस्य छन् । राज परिवार परिषद्ले तीनदिनभित्र ओमानको उत्तराधिकारी चयन गर्नेछ । परिषद्ले सहमतिमा उत्तराधिकारी चयन गर्न नसकेको अवस्थामा रक्षा परिषद्का सदस्य, सर्वोच्च अदालतका अध्यक्ष, सल्लाहकार परिषद् र राज्य परिषद्लाई सुल्तान कबुसले देहान्त अघि दिनुभएको बन्द खाम खोलेर उत्तराधिकारीको टुंगो लगाउनेछ ।
सुल्तानका तीनजना भतिज उत्तराधिकारीको दौडमा छन् । संस्कृति मन्त्री हैथम बिन तरिक अल सईद, उपप्रधानमन्त्री अशद बिन तरिक अल सईद र ओमानका पूर्व जलसेनाका कमाण्डरसँगै राज परिषद् सल्लाहकार समेत रहनुभएका शहिद बिन तरिक अल सईद उत्तराधिकारीको दौडमा हुनुहुन्छ ।
ओमानमा प्रधानमन्त्री, सशस्त्र बलका सुप्रिम कमाण्डर, रक्षा, परराष्ट्र एवम् अर्थ मन्त्रालयको कार्यभार समेत ओमानका सुल्तानकै जिम्मेवारीमा पर्छन् । ओमानको कुल जनसंख्या ४६ लाख रहेकोमा ४० प्रतिशत सर्वसधारण प्रवासमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?