logo
२०८१ असोज ४ शुक्रवार



बुहानमा नेपालीको जीवन रक्षा सुनिश्चित गरिएको छ : चिनियाँ दूताबास

अन्तर्राष्ट्रिय |


बुहानमा नेपालीको जीवन रक्षा सुनिश्चित गरिएको छ : चिनियाँ दूताबास



गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । चीन सरकारले चीनको बुहान क्षेत्रमा रहेका नेपाली विद्यार्थी लगायत विदेशी नागरिकको जीवन र स्वास्थ्य उपचारको सुनिश्चित गरेको जनाएको छ ।
काठमाडौ स्थिति चिनियाँ दूताबासले शनिबार एक विज्ञप्ति जारी गर्दै चीनले उनीहरूको बैधानिक अधिकार र हित संरक्षण गर्न सक्रिय भूमिका निभाउने स्पष्ट गरेको छ ।
चीनमा कोरोना भाइरसको संक्रमणले २५९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या भने दिनैपिच्छै बढ्दै गएको छ । शुक्रबार मध्यरातसम्म कोरोना भाइरसले संक्रमित हुनेको संख्या ११ हजार ७९१ र संदिग्धको संख्या १७ हजार ९८८ पुगेको नेपाल स्थित चिनियाँ दूताबासले जनाएको छ । विश्वका अन्य राष्ट्रमा भने संक्रमितको संख्या भने १०६ पुगेको छ ।
दूताबासले विज्ञप्तिमा चीन सरकारले अन्तर्राष्ट्रिय दायित्व उच्च जिम्मेवारीका साथ बहन गरिरहेको जनाएको छ । जस अन्तगर्त चीनमा रहेका विदेशी नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिइएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले विदेशी नागरिकको स्वास्थ्य हेरचाह र संक्रमित विदेशी नागरिकसँग समन्वय गर्न संयन्त्र गठन गरेर काम गरिरहेको दूताबासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनसँगको समन्वयमा नेपालले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयासको चीनले सराहना गर्दै थप सहयोगको आवश्यकता परे चिनियाँ दूताबास वा विदेश मन्त्रालयसँग सहकार्य गर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणले नेपाल भ्रमण गर्न आउने चिनियाँ नागरिकको संख्यामा कमी आउन सक्ने चीनले जनाएको छ । प्रकोप नियन्त्रणमा आए लगत्तै नेपाल भ्रमण वर्ष २०२० मा योगदान पुर्याउन चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
दूताबासले नियन्त्रण र उन्मूलनका लागि प्रयास जारी रहेको जनाएको छ । चीन सरकारले कोरोना भाइरस संक्रमणको उत्पत्ति स्थान पत्ता लगाएर वुहानमा प्राविधिक निर्देशनहरु उपलब्ध गराएको जनाएको छ । कोरोना उन्मूलन र नियन्त्रणका लागि वुहान मात्रैमा पनि कार्यान्वयन हुनुपर्ने कार्यहरु भइरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । भाइरसलाई अन्य भूभागमा फैल्नबाट रोक्न उपायहरु अपनाइएको दूतबासले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?