logo
२०८१ असोज ५ शनिवार



झाँगिदै संक्रमण, इरानमा पाँचजनाको मृत्यु

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


झाँगिदै संक्रमण, इरानमा पाँचजनाको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन १० गते । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण मध्यपूर्व एशियाका राष्ट्रहरुमा विकराल रुप लिन थालेको छ । शनिबारसम्म इरानमा कोभिड –१९ नाम दिइएको कोरोना भाइरसको संक्रमणले पाँचजनाको मृत्यु भएको छ ।
इरानका स्वास्थ्य मन्त्रीले दशजना नयाँ कारोना भाइरस संक्रमित थपिएको जानकारी दिनुहुँदै थप एकजनाको शनिबार मृत्यु भएको बताउनुभएको छ । इरानमा मात्रै संक्रमितको संख्या २८ पुगेको छ । इजरायल र लेबनानमा समेत भाइरस संक्रमितको पुष्टि भएको छ ।
इटालीमा भाइरसको संक्रमणले पहिलो दुईजनाको मृत्यु भएको अलजजिराले जनाएको छ । इटालीको उत्तरी दश शहरका विद्यालय, बार र सार्वजनिक स्थल बन्द गरिएको छ । इरानको पवित्र धार्मिक स्थल कोममा संक्रमित हुनेको संख्या बढ्दो छ । द गार्जियनले इरानका स्वास्थ्य मन्त्रालयका अधिकारी मिनो माहरेजलाई उद्धृत गर्दै कोममा कार्यरत एक चिनियाँ श्रमिकबाट भाइरसको संक्रमण फैलिएको हुन सक्ने उल्लेख गरेको छ ।
संक्रमण फैल्न नदिन इराकले इरानसित जोडिएको इराकी भूभाग प्रवेशमा बन्देज लगाएको छ । लेबनानको बेरुतमा समेत कोरोना भाइरसको संक्रमित फेला परेका छन् । इरानको कोमबाट बुधबार विमानमा यात्रा गरेर आएकी एक ४५ वर्षीया महिलामा कोरोनाको संक्रमण फेला परेको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले दाबी गर्नुभएको छ ।
चीनको मुख्यभूमीमा भने नयाँ संक्रमितको संख्या घट्दै गएको छ । शुक्रबार उक्त संख्या ३९७ रह्यो । थप १०९ जनाको मृत्यु भएको छ । चीनमा मात्रै संक्रमित हुनेको संख्या ७६ हजार २८८ पुगेको छ । दुई हजार ३४५ जनाको मृत्यु भइसकेको अलजजिराले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण न्यूनीकरण र रोकथामका अवसरको झ्याल साँघुरिदै गएको टिप्पणी गरेको छ । संगठनका महानिर्देशक ट्रेडस अदनोम घेब्रेससले रोकथामको झ्याल बन्द हुनुअघि बचेका अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “संक्रमण जुनसुकै दिशामा जान सक्छ, हामीले राम्रो प्रयास गरे जस्तोसुकै संकटबाट टाढिन सक्छौं, अवसरका झ्याल साँघुरिदै जाँदा बचेका अवसरको सदुपयोग गर्नुपर्छ ।” यद्दपी उहाँले भाइरसको संक्रमण फैलिरहेको स्पष्ट माध्यम सुनिश्चित भइनसकेको प्रष्ट्याउनुभएको छ ।
दक्षिण कोरियामा बढ्यो संक्रमित
दक्षिण कोरियामा शनिबार मात्रै ८७ जना कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्रै संक्रमित हुनेको संख्यामा २२९ जना थपिएका छन् । १४२ जना नयाँ संक्रमित एक रातमा गन्ती गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?