एक प्रत्यक्षदर्शीले लेखेका छन्, “खरानी बाढीसरह जमिनमा प्रवाहित भयो । जसले सहर अन्धकार भयो...बाक्लो बादल लागेर अँध्यारो कोठाजस्तो ।”
त्यतिबेला विसुवियस ज्वालामुखीले करिब दुई हजार मानिसको ज्यान लियो र पुरिएको सहर धेरै वर्षसम्म निर्जन नै रह्यो । सन् १७४८ मा केही अन्वेषकले पोम्पेईमा खोज गर्ने जमर्को गरे र उत्खनन गर्दा बाक्लो धुलो र फोहोरमैलामुनि कतिपय कुरा जस्ताको त्यस्तै सुरक्षित फेला पारियो तर सबै निर्जीव । पुरिएको पोम्पेईमा भवनहरू, कलाकृति र अस्थिपञ्जरको अवस्थाले प्राचीनकालमा विसुवियसले मच्चाएको विनाशलीला उनीहरू अनुमान गर्न सक्थे ।
साङ्केतिक भूकम्प आएको १६ वर्षपछि अर्थात् इस्वी संवत् ६३ फेब्रुअरीमा आएको ७.५ रेक्टर स्केलको विनाशकारी भूकम्पपछि इस्वी संवत् ७९ अगस्तमा माउन्ट विसुवियस पुनः विस्फोट भयो । सो विस्फोटबाट ठूलो परिमाणमा खरानी, धुलो, धुवाँ र चट्टानका टुक्रा आकाशमा धेरै माथिसम्म उछिट्टिए । ज्वालामुखीबाट निस्केको अत्यन्त तातो ग्यास यति माथिसम्म पुग्यो भने सयौँ किलोमिटर टाढाका मानिसले पनि त्यसलाई देख्न सके ।
चिसो भएर आकाशबाट भुइँमा खरानी र ज्वालामुखीबाट उछिट्टिएका अन्य वस्तु खस्न थालेपछि जमिन नजिक अक्सिजनको मात्रा कम भएर मानिसलाई सास लिनसमेत कठिनाइ भएको थियो । ज्वालामुखी विस्फोटको धक्काले पोम्पेईका भवनहरू भत्किए । खरानी र चट्टानका टुक्राको वर्षा भएपछि ज्वालामुखीबाट निस्किन थालेको पाइरोक्लास्टिक अर्थात् चट्टान र अन्य वस्तु पग्लिएर बनेको अत्यन्त तातो पदार्थ तीव्र गतिमा पहाडबाट तल बग्न थाल्यो । विषालु ग्यास छोड्दै करिब सय माइल प्रतिघण्टाको गतिमा तल बग्दै आएको तातो पदार्थको मार्गमा परेका सबै वस्तु र मानिस नष्ट भए ।
अर्कोदिन जब विसुवियस शान्त भयो तबसम्म पोम्पेई ज्वालामुखीको करोडौँ टन खरानीले पुरिइसकेको थियो । सो घटनामा पोम्पेईका करिब दुई हजार बासिन्दाको मृत्यु भयो तर समग्रमा १६ हजारभन्दा बढी मानिसको ज्यान विसुवियसले लिएको अनुमान गरिन्छ । ज्यान बचाउन समयमै पोम्पेईबाट भागेका केही मानिस आफन्त र आफ्ना मालसामानको खोजीमा नगर फर्किए तर उनीहरूका लागि त्यहाँ केही बाँकी थिएन ।
सो विस्फोटका कारण पोम्पेईसँगै नजिकैको नगर हर्कुलानियम तथा अन्य गाउँ शताब्दीयौँसम्म सुनसान नै रहेका थिए । ग्रीसबाट बसाइसराइ गरेर आएकाले ईसापूर्व आठौँ शताब्दीमा पोम्पेई बसाएका थिए । स्वतन्त्र रूपमा रहेका पोम्पेई ईसापूर्व दोस्रो शताब्दीमा रोमको नियन्त्रणमा प¥यो । त्यसलगत्तै नेपल्सको खाडी रोमबाट बिदा मनाउन आउने धनाढ्यका लागि आकर्षणको केन्द्र बन्न पुग्यो ।
इस्वी संवत् प्रथम शताब्दी थालनीसँगै माउन्ट विसुवियसबाट मात्र पाँच माइल टाढा अवस्थित पोम्पेईमा रोमका प्रतिष्ठित नागरिकको बसोबासको थलो बन्यो । शानदार घर र बङ्गला पोम्पेईका ढुङ्गाले बनाइएका बाटोका वरिपरि लहरै निर्माण गरिए । पर्यटकको केन्द्र तथा साना उद्योगमा दासहरू किनबेच थालियो, कलाकृतिका पसल, मधुशाला र चियाकफीका पसलहरू भएको पोम्पेई निकै समृद्ध थियो । २० हजार मानिस बस्ने क्षमताको एरिना र खुला बजारमा मानिसहरू भेला हुने गर्थे । तर इस्वी संवत् ७९ को एक साँझ पोम्पेईको अस्तित्व सदाका लागि समाप्त भयो ।
घटनाको सुरुआत यस प्रकार भयो
अत्यन्त गर्मी थियो र विचित्रका घटना हुन थाले । नदीनालामा मरेका माछा तैरिएका देखिए र इनार अचानक सुके । माउन्ट विसुवियसका पाखामा लगाइएका अङ्गुरका बारी रहस्यमय तरिकाले मुर्झाउँदै सुक्न थाले । बारम्बार भूकम्पका हल्का झट्का महसुस गर्न थालियो । पोम्पेईका बासिन्दा असामान्य घटनाले त्रसित थिए । केही मानिसले कुनै ठूलो घटना हुने हो भन्ने डरले पोम्पेई छाडेर गए तर धेरै मानिस त्यहीँ बसे ।
इस्वी संवत् ७९ अगस्त २४ को बिहानै विसुवियसमा भयङ्कर विस्फोट भयो । त्यसपछि अभैm ठूलो विस्फोट भएर विसुवियसबाट निस्केका वस्तु ४३ किलोमिटर माथिसम्म आकाशमा पुगे । सो विस्फोटको क्षमता हिरोसिमामा पड्काइएको परमाणु बमभन्दा एक लाख गुणा बढी भएको अनुमान वैज्ञानिक गर्छन् ।
ज्वालामुखीबाट निस्केको खरानी हल्का भए पनि घनत्व अत्यधिक भएका कारण त्यसले केही समयमै पोम्पेईलाई ढाक्न सुरु ग¥यो । बाँच्नका लागि मानिसले सुरक्षित ठाउँ खोज्न थाले तर उनीहरूले पर्याप्त समय नै पाएनन् र ज्वालामुखीबाट निस्किएका वस्तुले उनीहरूको जहाँको त्यहीँ चिहान बनाइदियो ।
त्यसै दिन भयङ्कर विस्फोट फेरि भयो । त्यसले पहिलेको भन्दा पनि छ माइल अझै माथिसम्म धुवाँ, धुलो, चट्टानका टुक्रा पु¥यायो । दिनभरि खरानी, धुलो र चट्टानका टुक्रा खसेर पोम्पेई कैयौँ मिटर पुरिएको थियो । तिनको भार थेग्न नसकेर भवनहरू भत्किए ।
बिहानको ११ बजेतिर ज्वालामुखीको मुख अचानक भत्कियो र तातो म्याग्मा अर्थात् पाइरोक्लास्टिक पदार्थ विसुवियसबाट निस्केर पोम्पेईतिर बग्न थाल्यो । धुलो, खरानीले पुरिएका त्यहाँका मानिस र घरलाई त्यस म्याग्माले क्षणभरमै डढाएको थियो ।
पोम्पेईलाई निलेको माउन्ट विसुवियस सन् १९४४ पछि शान्त नै छ । तसर्थ वैज्ञानिक यसलाई ठूलो खतराका रूपमा हेरिरहेका छन् । अहिले त झन् त्यस वरिपरि करिब ३० लाख मानिसको बसोबास रहेको छ ।
पोम्पेईको उत्खननबाट त्यहाँ ढङ्गामा परिणत भएका मानिसका अवशेष फेला परेका छन् । तिनको अवस्था हेर्दा उनीहरू ज्यान जोगाउने प्रयास गर्दागर्दै ज्वालामुखीको सिकार भएको जस्तो लाग्छ । केही आफ्ना बच्चा काखमा च्यापेर ढुङ्गामा परिणत भएको समेत देखिएको छ ।
– युवामञ्च चैत २०७६