गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २२ गते । भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब तीन हजार पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म दुई हजार नौ सय दुईजनामा संक्रमणको पुष्टि भएको हो । ५५ जना विदेशी छन् ।
भारतमा कोरोनाभाइरस सक्रिय रहेको बिरामीको संख्या दुई हजार ६५० छन् । १८३ जना संक्रमित निको भई घर फर्केका छन् । शनिबार बिहान छ जना संक्रमितको मृत्यु भएको छ। तीनजना महाराष्ट्र, दुईजना नयाँ दिल्ली र एकजना गुजरातमा कोरोना संक्रमितको शनिबार मृत्यु भएको हो ।
महाराष्ट्रमा सबैभन्दा बढी १९ जनाको मृत्यु भएको छ । गुजरातमा नौ, तेलङ्गानामा सात, मध्यप्रदेशमा छ, नयाँ दिल्लीमा छ, पञ्जाबमा पाँच, कर्नाटकामा तीन, पश्चिम बंगालमा तीन, जम्मु काश्मिरमा दुई, उत्तर प्रदेशमा दुई र केरलामा दुई जना संक्रमितको मृत्यु भएको छ ।
आन्ध्रप्रदेश, तामीलनाडू, बिहार र हिमाञ्चल प्रदेशमा एक एक जना संक्रमितको मृत्यु भएको पीटीआईले उल्लेख गरेको छ । कोरोना भाइरसको प्रकोप भारतमा सबैभन्दा बढी महाराष्ट्र, तामीलनाडू र दिल्लीमा छ । महाराष्ट्रमा ४२३ र दिल्लीमा ३८६ तथा तामीलनाडूमा ४११ जनामा संक्रमणको पुष्टि भएको छ । केरलामा २९५, राजस्थानमा १७९ र उत्तरप्रदेशमा १७४ जना संक्रमित छन् । मध्यप्रदेशमा १०४ तथा गुजरातमा ९५ र जम्मु काश्मिरका ७५ जनामा संक्रमणको पुष्टि भएको छ ।
आन्ध्रप्रदेशमा १६१ र तेलङ्गानामा १५८ जनामा संक्रमणको पुष्टि भएको छ । पश्चिम बंगालमा ६३, पञ्जाबमा ५३ र हरियाणामा ४९ जना संक्रमित फेला परेका छन् । बिहारमा २९, असाममा २४, चण्डीगढमा १८, उत्तराखण्डमा १६ तथा लद्दाखमा १४ जना संक्रमित भएका छन् ।
भारतको अन्डामन र निकोबार द्वीपमा पनि दशजना संक्रमित भेटिएको पीटीआईले उल्लेख गरेको छ । झारखण्ड र मणिपुरमा दुई दुई जना तथा मिजोरम, अरुणाचल प्रदेशमा एक एक जनामा संक्रमणको पुष्टि भएको छ ।