logo
२०८१ असोज ६ आईतवार



लकडाउनका बीच मुम्बईमा सैकडौं श्रमिक घर फर्किन सडकमा उत्रिए

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


लकडाउनका बीच मुम्बईमा सैकडौं श्रमिक घर फर्किन सडकमा उत्रिए


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा रहेको महाराष्ट्रको मुम्बईमा सैकडौं प्रवासी कामदार सडकमा उत्रेर घर फर्किन सबारी व्यवस्थापनको माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन लम्ब्याउने घोषणा गरेको केही घण्टा नबित्दै सैकडौं संख्यामा प्रवासी कामदार मुम्बईको बान्द्रामा जमा भएका हुन् ।
समाचार संस्था पीटीआईका अनुसार लकडाउन सुरु भए लगत्तै दैनिक ज्यालादारीमा रहेका श्रमिक कामविहीन बन्न पुगेका छन् । कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न लकडाउनको घोषणा गरिएपनि श्रमिकको दिनचर्या कष्टपूर्ण बनेको थियो । सरकारी अधिकारी र गैरसरकारी संस्थाले प्रवासी कामदारको रेखदेख, खाना र बसोबासको उचित व्यवस्था गरेको दाबी गर्दै आएको छ ।
प्रहरी अधिकारीका अनुसार करिब एकहजारभन्दा बढी श्रमिक बान्द्रा बस पार्कमा जमा भई सबारी व्यवस्थापन गर्न माग गरेका थिए । अधिकांश श्रमिक पश्चिम बंगाल र उत्तरप्रदेशका रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
सरकारी अधिकारी र गैरसरकारी संस्थाले खाना र बस्ने ब्यवस्था गरेपनि कामविहीन बन्न पुग्दा तलब नआउने भएकोले घरमा परिवारजनसँगै बस्ने उद्देश्य लिएर बसपार्क पुगेको एक श्रमिकले बताए । पश्चिम बंगालका असदुल्लाह शैषले पहिलो चरणको लकडाउनमा आफूसँग भएको सबै सञ्चित रुपियाँ खर्च भइसकेकोले घर प्रस्थान गर्न लागेको बताउनुभयो । भिडलाई नियन्त्रणमा लिन सयौं प्रहरी परिचालन गरिएको थियो । प्रहरीले सबैलाई आ आफ्नो आश्रयस्थल फर्काएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा दैनिक श्रम गर्ने कामदारको विदाको तलब उपलब्ध गराउन अपील गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?