logo
२०८१ असोज ६ आईतवार



अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द

अन्तर्राष्ट्रिय |


अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द


टोरोन्टो, वैशाख ७ गते । अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिनु भएको छ ।
उहाँले सिमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने शनिबार स्पष्ट पार्नु भएको छ ।
सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था नरहेको पनि उहाँले बताउनु भयो । “यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताउनु भएको थियो । सिमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो । अमेरिका र क्यानाडाका सिमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् । कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ३८ हजार ९२३ जना संक्रमित भएका छन् भने ३९ हजार १५ जनाको मृत्यु भएको छ । त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार ३८३ जना संक्रमित हुँदा एक हजार ४७० जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप