गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १३ गते । पाकिस्तानको इस्लामाबादस्थित एशोसिएटेड प्रेस(एपी) समाचार संस्थाको प्रमुख कार्यालय बन्द गरिएको छ । एपीमा कार्यरत एकजना कर्मचारीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि प्रमुख कार्यालय बन्द गरिएको हो ।
समाचार संस्था एएनआईले इस्लामाबाद क्यापिटल टेरिटरी(आइसीटी)ले शुक्रबार अबेर एक सूचना प्रकाशन गरी एपीको प्रमुख कार्यालयमा एकजना कर्मचारीमा कोभिड–१९ को संक्रमणको पुष्टि भएपछि साबधानीस्वरुप कार्यालय बन्द गरिएको उल्लेख गरेको छ । सूचना बमोजिम एपी पाकिस्तानको कार्यालयमा सम्पादकीय र अन्य कर्मचारीको काम कार्यालय परिसरबाट हुने छैन् ।
कार्यालयमा कार्यरत कर्मचारीहरुलाई घरबाटै काम गर्न सुझाब दिइएको छ । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या १२ हजार ५०७ पुगेको छ । जसमध्ये इस्लामाबादमा मात्रै २२३ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमणबाट पाकिस्तानमा करिब २६१ व्यक्तिको मृत्यु भएको छ ।