logo
२०८१ मंसिर ११ मंगलवार

  स्पेनकी हजुरआमाको कथा  



सन् १९१८ मा स्पेनिस फ्लु जितिन्, अहिले कोभिड–१९ परास्त गरिन्

अन्तर्राष्ट्रिय |


सन् १९१८ मा स्पेनिस फ्लु जितिन्, अहिले कोभिड–१९ परास्त गरिन्


इश्वरचन्द्र झा
काठमाडौं, वैशाख १४ गते । कहिलेकाहिं चमात्कार हुन्छ तर हामी सबैलाई उक्त चमत्कारको साक्षी बन्ने अवसर जुर्दैन । झन महामारीको बेला सम्पूर्ण विश्व नै ठप्प रहँदा हुने चमत्कारले विश्वको ध्यानाकर्षण गरेको छ । महामारीमा कोरोना भाइरसलाई जित्ने सामान्य सर्वसाधारणको कथा सधैं रोचक र महत्वपूर्ण हुन पुगेको छ । महामारीको प्रकोप विश्वभरि फैलिरहँदा कोरोना भाइरस जस्तो अदृश्य शत्रुलाई जितेको कथाले विश्व समुदायलाई प्रेरणासँगै ऊर्जा थप्दै आएको छ । यिनै कथाहरुमध्ये एउटा अव्यहारिक र चमत्कारिक उद्धरण स्पेनमा फेला परेको छ ।
महामारीबाट बच्न विश्व समुदायले वृद्धको सुरक्षालाई लिएर चिन्तित देखिन्छ । र जोगिन हरसम्भव उपाय र सतर्कता अपनाएको छ । कोरोना भाइरस रुपी महामारीको सबैभन्दा बढी जोखिम वृद्धमा रहेकोले पनि सावधानीका उपाय र सतर्कता वृद्धमा बढी केन्द्रित भएको देखिन्छ । स्पेन, इटाली र अमेरिकामा त मृत्यु हुने तथ्याङ्कले सबै पूर्वानुमानलाई ध्वस्त बनाएको छ । यी राष्ट्रले दैनिक दुई हजारदेखि चारहजार व्यक्तिको मृत्युको साक्षी बनेका छन् ।
महामारीका बीच स्पेनबाट प्रकाशित हुने अंग्रेजी अखबार ओलिभ प्रेसले सन् १९१८ को स्पेनिस फ्लुलाई जितेकी एक बालिकाले करिब एकसय वर्षपछि अहिले कोभिड–१९ लाई जित्ने ज्येष्ठ नागरिक बनेको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ । सन् १९१८ मा स्पेनिस फ्लुले महामारीको रुप लिदा एना डेल भाल भाइरसबाट ग्रसित भइन् र पछि निको भएर सामान्य जीवन बिताएकि छन् ।
स्पेनिस फ्लु सन् १९१८ को जनवरीमा सुरु भई सन् १९२० को डिसेम्बरसम्म विश्वब्यापी महामारीको रुप लिएको थियो । स्पेनिस फ्लुको महामारीमा विश्वका करिब पचास करोड व्यक्ति संक्रमित हुन पुगे । जुन त्यत्तिबेलाको विश्वको कुल जनसंख्याको एक तिहाइ थियो । र अब १०२ वर्षपछि उनै हजुरआमाले चमात्कारिक रुपमा कोभिड–१९ लाई परास्त गर्नुभएको छ । र रोन्डास्थित आफ्नो परिवारमा खुशी ल्याउनुभएको छ ।
एएनआईका अनुसार १०६ वर्षीय हजुरआमामा अल्काला डेल भालका करिब ६० जना स्थानीय बासिन्दा सँगै कोभिड–१९ को संक्रमणको पुष्टि भयो । उहाँलाई ला लिनास्थित अस्पतालमा भर्ना गरियो । र केही दिन अघि मात्रै उहाँलाई कोभिड–१९ बाट मुक्त भएको घोषणा सहित घर फर्काइएको छ ।
एनाको जन्म सन् १९१३ को अक्टोबरमा भएको थियो । अबको छ महिनापछि उहाँको उमेर १०७ वर्ष हुनेछ । स्पेनमा उहाँ कोभिड–१९ लाई परास्त गर्नुभएको सबैभन्दा बढी उमेरका हुनुहुन्छ । विश्वब्यापी रुपमा नेदरल्याण्ड्सका १०७ वर्षीय कोरनेला रास भने विश्वकै सबैभन्दा जेठो कोभिड–१९ बाट मुक्त भएका व्यक्ति हुनुहुन्छ ।
स्थानीय सञ्चारमाध्यम मलागा होयले उहाँकी बुहारी पिक साञ्चेजलाई उद्धृत गर्दै लेखेको छ, “अस्पतालका स्वास्थ्यकर्मीले गर्नुभएको स्याहार यर्थाथमै प्रशंसनीय छ तर आमाको उमेर बढी भएकोले स्वास्थ्यकर्मी नियमित परीक्षणका लागि तत्पर नभएकोमा असन्तुष्ट छु ।”
उपचारमा संलग्न चिकित्सकले उहाँमा अत्यन्तै राम्रो परिणाम आए पनि धेरै सचेत हुन जरुरी रहेको बताउनुभयो । चिकित्सकलाई उद्धृत गर्दै मलागा होयले उहाँ एक्लै खाने, कुनै दिन बढी र कुनै दिन कम खाने गर्नुभएको र ‘वाकर’को सहयोगमा छोटो दूरी एक्लै तय गर्नुभएको उल्लेख गरेको छ । चिकित्सकहरुले उहाँमाथि विशेष निगरानी र हेरचाहको आवश्यकता औंल्याएका छन् ।
स्पेनमा उहाँ अतिरिक्त १०१ वर्षीय दुईजना महिला कोभिड–१९ को संक्रमणबाट मुक्त भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । स्पेनमा कोभिड–१९ को संक्रमणबाट २२ हजार ५२४ जनाको मृत्यु भएको छ । ९२ हजार ३५५ जना बिरामी कोभिड–१९ को संक्रमणबाट मुक्त भएर घर फर्केका छन् ।
स्पेनको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट दैनिक ३६७ जनाको मृत्यु भएको उल्लेख गरेको छ । मार्च २१ पछि यो सबैभन्दा कम संख्या हो ।
अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार विश्वब्यापी रुपमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या करिब दुई लाख पुगेको छ । करिब २८ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । सात लाख ८१ हजार कोभिड–१९ का संक्रमित हाल मुक्त भएर अस्पतालबाट घर फर्केका छन् ।

(एएनआईकाे समाचारमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?