logo
२०८१ मंसिर ७ शुक्रवार



ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


ब्राजिल भएर अमेरिका प्रवेश गर्न प्रतिबन्ध


वासिङ्टन , जेठ १२ गते । संयुक्त राज्य अमेरिकाले ब्राजिल भएर यात्रा गर्ने अमेरिका बाहेकका कुनै पनि देशका नारिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ । अमेरिकाको यो यात्रा प्रतिबन्धको नीतिबमोजिम पछिल्ला १४ दिनमा ब्राजिल पुगेका या पछिल्लो १४ दिनयता ब्राजिल भएर यात्रा गरेका नागरिकलाई अबदेखि अमेरिका प्रवेश गर्न दिइने छैन ।
अमेरिकामा कोभिड १९ को प्रकोप रोक्नका लागि अमेरिकाले यो नीति अख्तियार गरेको जानकारी दिइएको छ । अमेरिकाले नागरिकहरूलाई आफ्नो देश छिर्न प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले जनाएका छन् ।
दक्षिण अमेरिकी देश ब्राजिलमा साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो देश संक्रमणको हिसाबले विश्वको दोस्रो ठूलो केन्द्र बन्न पुगेको बताइएको छ ।ब्राजिलमा २२ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यस्तो प्रतिबन्धलाई अमेरिकामा नयाँ संक्रमण भित्रिन नदिनका लागि गरिएको प्रयासका रुपमा मात्र लिनुपर्ने अमेरिकाले अथ्र्याएको बताइएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता कालेह म्याकन्यानीले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिनुभएको हो । हालैको यो नयाँ प्रतिबन्धले दुई देशबीचको व्यापारमा भने असर नगर्ने पनि ह्वाइट हाउसका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो प्रतिबन्धले अमेरिकी नागरिकहरुका साथै उनीहरूका परिवार, कानुनी संरक्षक, अमेरिकी नागरिकका सन्तान वा कानुनी रूपमा स्थायी आवासीय अनुमति भएका र २१ वर्ष मुनिका उनीहरुका दाजुभाइ एवं दिदीबहिनीहरूलाई भने रोक्नेछैन । अत्यावश्यक भएर अमेरिका प्रवेश गर्नेहरुलाई पनि स्वास्थ्यका तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप