logo
२०८१ असोज ८ मंगलवार



प्रहरी नियन्त्रणमा अफ्रिकी मूलका अमेरिकीको मृत्युपछि अमेरिकाभरि प्रदर्शन

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


प्रहरी नियन्त्रणमा अफ्रिकी मूलका अमेरिकीको मृत्युपछि अमेरिकाभरि प्रदर्शन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १६ गते । प्रहरी नियन्त्रणमा एकजना अभियुक्तको मृत्यु भएको घटनालाई लिएर अमेरिकामा प्रदर्शनले उग्र रुप लिएको छ । गत् मंगलबार अमेरिकाको मिनेसोटास्थित मिनियापोलिसमा एकजना अफ्रिकी मूलका अमेरिकी नागरिकको घाँटीमा प्रहरीले घुँडाले च्यापेको अवस्थामा मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।
घटना भएको भोलीपल्टदेखि नै अमेरिकाको विभिन्न स्थानमा विरोध सुरु भएको छ । विरोध हिंस्रक भएपछि विभिन्न शहरबाट सयौं सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरोधमा उत्रेका नागरिकले मिनेपोलिस प्रहरी चौकीको प्रशासनिक भवनमा बिहिबार राति आगजनि समेत गरेका छन् ।
एशोसिएट प्रेसका अनुसार सामाजिक सञ्जालमा राखिएको भिडियोमा जर्ज फ्लोयडले प्रहरीको चेपाइबाट आफूलाई श्वास लिन असहज भएको भन्दै पटक पटक मुक्त गर्न आग्रह गरेको देखिन्छ । जमा भएका सर्वसाधारणले मुक्त गर्न गरेको आग्रह प्रहरी अधिकारीले अस्वीकार गर्दागर्दै फ्लोयड बेहोस हुनुभएको थियो । घटनास्थल पुगेको एम्बुलेन्स बेहोसी अवस्थामा रहेका फ्लोयडलाई अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो ।
मिनियापोलिस अतिरिक्त अमेरिकाको न्युर्योकसहित विभिन्न स्थानमा हजारौं सर्वसाधारण शान्तीपूर्ण रयाली प्रदर्शन गर्दा न्यायको माग गरेका छन् । सेन्ट पौलका मेयर मेल्भिन कार्टरले प्रदर्शन रोकेर घरमै बस्न र फ्लोयड मृत्यु प्रकरणमा भइरहेको अनुसन्धान पर्खिन अपील गर्नुभएको छ । मेयर कार्टर अफ्रिकी मूलका अमेरिकी नागरिक हुन ।
अमेरिकी न्यायधिवक्ताको कार्यालय र मिनियापोलिसका अनुसन्धान विभागले प्रहरी नियन्त्रणमा भएको अपराधबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनसहित तीनजनालाई तात्कालै निलम्बन गरिएको छ । मिनियापोलिस प्रहरीका अनुसार डेरेकमाथि यसअघि पनि एकदर्जनभन्दा बढी मानव अधिकार हननका ऊजुरी परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?