logo
२०८१ असोज ८ मंगलवार



प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका तीनजना पत्रकार गिरफ्तार

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |
फिचर |


प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका तीनजना पत्रकार गिरफ्तार


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १७ गते । अमेरिकामा जारी विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका एकजना सीएनएनका रिपोर्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर मुक्त गरेको छ । नियन्त्रणमा लिएको केही समय नबित्दै तीनैजनालाई मुक्त गरिएको बीबीसीले जनाएको छ ।
सीएनएनमा क्यामराअगाडि प्रदर्शनबारे प्रत्यक्ष प्रसारण गर्नुभएका ओमार जिमेनेजलाई प्रहरीले हथकडी लगाएर नियन्त्रणमा लिएपनि अभियोगपत्र दर्ता नै नगरी शुक्रबार नै मुक्त गरेको हो । जिमेनेजका क्यामरापर्सन र प्रोड्युसरलाई पनि स्थान खाली गर्न दिएको आदेश पालना नगरेको भन्दै नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । मिनेसोताका गर्भनर टीम वाल्जले क्षमा माग्दै उक्त घटना अस्वीकार्य रहेको बताउनुभएको छ ।
सीएनएनले भने प्रहरीले गिरफ्तार गर्नु संविधानविपरित रहेको प्रतिक्रिया जनाएको छ । मिनियापोलिसस्थित प्रहरीको प्रशासनीक भवनमा प्रदर्शनकारीले आगो सल्काउँदा जिमेनेजले प्रत्यक्ष प्रसारण गर्नुभएको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दृश्यसमेत प्रसारण गरिरहेको देखेपछि प्रहरीले तीनैजनालाई नियन्त्रणमा लियो । प्रहरीसँगको भनाभनमा जिमेनेजले आफू प्रत्यक्ष प्रसारणमा रहेको र सकिनेबित्तिकै यहाँबाट छुट्टिने बताएको देखिन्छ । जिमेनेजले आफ्नो भनाइ सक्नै लाग्दा अर्का प्रहरी अधिकारीले 'तपाईंलाई गिरफ्तार गरिन्छ' भन्दै हथकडी लगाएर अगाडि लगेको देखिन्छ ।
सीएनएनले अमेरिकी संविधानको अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै आलोचना गरेको छ । मिनियापोलिस प्रहरी अधिकारीले भने सञ्चारकर्मी रहेको जानकारी पाउनेबित्तिकै मुक्त गरिएको दाबी गरेका छन् । तर गर्भनर वाल्जले भने घटनाको पूर्ण जिम्मेवारी लिएको प्रतिक्रिया दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?