logo
२०८१ असोज ८ मंगलवार

 अमेरिकामा जारी विरोधको फरक पाटो  



आरोपितकी श्रीमतीको सम्बन्ध विच्छेददेखि प्रदर्शनमा प्रहरी समर्थन

अन्तर्राष्ट्रिय |


आरोपितकी श्रीमतीको सम्बन्ध विच्छेददेखि प्रदर्शनमा प्रहरी समर्थन


इश्वरचन्द्र झा
काठमाडौँ, जेठ २१ गते । अमेरिका विश्वकै सबैभन्दा पुरानो लोकतान्त्रिक राष्ट्र हो । अमेरिकामा गरिने लोकतान्त्रिक अभ्यासले कुनै न कुनै रुपले विश्व समुदायलाई शिक्षित गर्दै आएको छ । तर गत् साता अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरीले नियन्त्रणमा लिने नाममा भएको ‘हत्या’को विषयलाई लिएर विगत एक हप्तादेखि अमेरिकाका विभिन्न राज्यमा विरोध जारी छ । हिंसामा कम्तिमा छ जना ज्यान गएको छ । अमेरिकी लोकतन्त्र र मानव अधिकारको अवस्थाबारे विश्व समुदायलाई नै चकित बनाएको छ । अमेरिकामा अफ्रिकी मूलका अमेरिकीले भोगेको यो पहिलो घटना भने हैन् ।
समय समयमा आइरहने यस्तो घटनाले विश्व माझ अमेरिकी लोकतन्त्र र मानव अधिकारको अवस्थालाई नराम्ररी गिज्याउँदै आएको छ । विशाल प्रदर्शन भइरहँदा शान्ति सुरक्षाको अवस्था बिथोलिएको छ । साथै उक्त घटनासँग नै सम्बन्धित केही चकित तुल्याउने दृश्य र तथ्यले विश्व समुदायलाई थप चकित तुल्याएको छ ।
घटना १
अफ्रिकी मूलका अमेरिकी नागरिक ४६ वर्षीय जर्ज फ्लोयडको हत्यामा संलग्न दाबी गरिएका प्रहरी अधिकारी डेरेक चौभिन प्रहरी हिरासतमा छन् । गोरा समुदायबाट आएका प्रहरी अधिकारी डेरेक चौभिनमाथि हत्याको आरोप लागेलगत्तै उहाँकी श्रीमती केली चौभिन सम्बन्ध विच्छेदको लागि अदालत पुग्नुभएको छ ।
सम्बन्ध विच्छेदसँगै केलीले आफ्नो थर परिवर्तनका लागि समेत अदालतसमक्ष आग्रह गर्नुभएको छ । डेरेककी श्रीमतीको अदालत समक्ष यसप्रकारको अपीलले विशेष अर्थ राख्छ । केलीले गर्नुभएको अपीलले जघन्य अपराधमा संलग्न भएकोले नै श्रीमानसँगको विगतलाई बिर्सन चाहेको रुपमा अर्थ्याइएको छ । उहाँले आफू हत्या भएका व्यक्तिप्रति सहानभूति रहेको बताउनुभएको छ ।
घटना २
गत शुक्रबार नै प्रदर्शन उग्र र तीव्र भएपछि राष्ट्रपति ट्रम्प बङ्करभित्र लगिएको समाचार तीन दिनपछि मात्रै सार्वजनिक भयो । राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न अपनाइएको उक्त कदमले ह्वाइट हाउस वरिपरिको विरोध र प्रदर्शनलाई चित्रण गर्छ । राति साढे दश बजेदेखि ह्वाइट हाउसअगाडि सुरु भएको प्रदर्शन बिहान तीन बजेपछि मात्रै साम्य हुन पुग्यो ।
तर विरोध प्रदर्शनकै क्रममा कतै अराजकता कतै लुटपाट र हिंसात्मक घटनाहरू पनि हुन पुगेको छ । ह्वाइट हाउसअगाडि जम्मा भएको भिडलाई नियन्त्रणमा लिन बल प्रयोग आवश्यक र अपरिहार्य हुन पुगेको थियो । तर सुरक्षाकर्मीले अत्यन्तै संयमित र सुझबुझपूर्ण कदम चाले । प्रदर्शनकारीलाई व्हाइट हाउसको पहिलो घेरासम्म आउन दिइयो । भिड पातलिँदै गएपछि प्रहरीले आफ्नो दायरा बढाउँदै प्रदर्शनकारीलाई पछाडि धकेल्न सफल भयो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियोमा व्हाइट हाउसअगाडि विरोध गरिरहेका प्रदर्शनकारीले शान्तिपूर्ण नाराबाजी गरिरहँदा प्रहरीले सामान्य बलसमेत प्रयोग गरेको भिडियोमा देखिएन । बरु शान्तिपूर्ण प्रदर्शन गर्नेलाई संयमित र शालीनतापूर्वक छेउ लगाएको देखिन्छ ।
घटना ३
जर्ज फ्लोयडको हत्यापछि विरोध र प्रदर्शनको दायरा अमेरिकाको ४५ राज्यमा फैलिएको छ । प्रदर्शनमा अफ्रिका मूलका अमेरिकी नागरिक मात्रै सहभागी छैनन् । बरु गोरा समुदायको प्रतिनिधित्व पनि उत्तिकै छ । गोरा समुदायका किशोरदेखि वृद्धसम्म फ्लोयडका लागि न्यायको माग गर्दै सडकमा छन् । फ्लोयड हत्याको एक साता बित्न लाग्दा अमेरिकी प्रहरी पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बनेको भिडियोमा न्युयाेर्क प्रहरी घुँडा तल पारेर बसेका छन् । र प्रदर्शनकारीले ठूलो स्वरमा न्यायको नारा लगाउँदैछन् ।
अमेरिकाको कतिपय सुरक्षा अधिकारीहरूले सार्वजनिक रुपमै मिनियापोलिस प्रहरी अधिकारीको आचरण अस्वीकार्य रहेको बताएका छन् । फ्लोयडको घर भएको हाउस्टन प्रहरीका प्रमुख आर्ट एसभेडोले दिनुभएको वक्तव्य चर्चामा छ । प्रदर्शन नियन्त्रण गर्न जम्मा भएका प्रहरी अधिकारीहरू घुँडा तल पारेका छन् । लगत्तै हाउस्टन प्रहरी प्रमुख प्रदर्शनकारीसँगै भिडमा हिँड्न सुरु गर्नुभयो । फ्लोयडको मृत्युको कारणलाई जतिसुकै निन्दा गरे कम हुने हाउस्टन प्रहरीका प्रमुख बताउनुहुन्छ ।

(ऐजिन्सीको सहयोगमा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?