logo
२०८१ असोज ८ मंगलवार



एक्लै सरसफाइमा जुट्दा कार र पूर्ण छात्रवृत्ति उपहार

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


एक्लै सरसफाइमा जुट्दा कार र पूर्ण छात्रवृत्ति उपहार


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २५ गते । रातिको दुई बज्दै थियो । अमेरिकाको न्युर्योक शहरको बफेलोका एक किशोर एन्टोनियो जिविन जुनियरले हातमा झाडु लिएर बाहिर निस्किनुभयो । केही फोहोर राख्ने ‘डस्टबिन’ एकत्रित गर्नुभयो । र गल्लीमा झाडु लगाउन थाल्नुभयो ।
सोमबार राति झाडु लगाउन सुरु गर्नुभएका उहाँले निरन्तर दश घण्टासम्म सडक र गल्ली सरसफाइमा जुट्नुभयो । अबेर बिहान छरछिमेकी संगठित रुपमा सडक सरसफाइका लागि बाहिर निस्किदा एन्टोनियोले अधिकांश कार्य गरिसकेको देखेर स्तब्ध भए । १८ वर्षीय एन्टोनियो उच्च माध्यमिक तहमा अध्ययनरत हुनुहुन्छ ।
अघिल्लो राति एन्टोनियोले स्थानीय सञ्चारमाध्यममा बफेलोका सडक फोहोर र काँचको टुक्राले भरेको समाचार हेरेको बताउनुभयो । सीएनएनसँगको कुराकानीमा एन्टोनियोले बफेलोबासी कामको शिलशिलामा बिहानै बाहिर निस्किने महसुस गरेर राति नै सरसफाइमा जुटेको प्रष्ट्याउनुभयो । र एन्टोनियोले एक्लै बफेलोको सडक सरसफाइ गरेको समाचार स्थानीय सञ्चारमाध्यममा भाइरल बन्यो ।

समाचार हेरेर म्याट ब्लकले आफूले पुरस्कारमा पाएको ‘२००४ रेड मुस्ताङ्’ उपहार स्वरुप एन्टोनियोलाई प्रदान गर्नुभयो । सीएनएनसँगको कुराकानीमा २७ वर्षीय ब्लकले आफू बाल्यकालदेखि नै उक्त गाडी खरिद गर्ने इच्छा राखेको बताउनुभयो । तर वर्तमान उहाँ थोरै अवसरमा मात्रै उक्त कार उपयोगमा ल्याउनुहुन्छ । ब्लक भन्नुहुन्छ, “एन्टोनियोको फेसबुक वालमा कार खरिद गर्ने सुझाब देखेर उपहार स्वरुप कार प्रदान गरेको छु ।”
एन्टोनियोका लागि उक्त कार उपहार मात्रै रहेन । सन् २०१८ मा दिवङ्गत हुनुभएकि एन्टोनियोकी आमा पनि ‘रेड मुस्ताङ्’ नै सबारी गर्नुहुन्थ्यो । र उपहारमा रेड मुस्ताङ् नै पाएपछि एन्टोनियोको खुशीको सीमा रहेन ।
ब्लकले रेड मुस्ताङ् उपहार दिएको सुनेपछि बोब ब्रिसल्याण्डले उक्त कारको एक वर्षका लागि निशुल्क अटो बीमा गर्ने घोषणा गर्नुभयो । ब्रिसल्याण्ड बीमा संस्था चलाउनुहुन्छ ।
ब्रिसल्याण्डले भन्नुभयो, “उहाँको राम्रो कार्य हेरेर घोषणा गर्न बाध्य भएँ, समाजले हामी कहाँ राम्रा र सही आचरण भएका पनि थुप्रै रहेको बुझ्नुपर्छ् ।”
एन्टोनियो जिविनले रुपियाँ सञ्चित गर्न उच्च माध्यमिकको अध्ययन सकेर ब्यापार विद्यालय जाने योजना बनाउनुभएको छ । उहाँको कथा सुनेर बफेलोस्थित मेडील कलेजले ब्यापार अध्ययनका लागि पूर्ण छात्रवृत्तिको प्रस्ताब गरेको छ । जीवनको थुप्रै लक्ष्यमध्ये एन्टोनियो जिविनले सरसफाइको ब्यापार गर्ने सोच्नुभएको छ ।


राम्रो कार्यका लागि एन्टोनियो जिविनले पहिलोपटक यस प्रकारको उपहार पाउनुभएको छ । तर सहयोगी कार्यमा जुटेको यो भने उहाँको पहिलो अवसर होइन । उहाँ कप्पा फी स्वयंसेवी सदस्य रही सामुदायिक सेवामा संलग्न हुनुहुन्छ । र चर्चमा सहयोग गर्दै आउनुभएको छ ।
समुदायको प्रतिक्रियाबाट एन्टोनियो जिविन खुशी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबैजनाले मेरो लागि गर्नुभएको प्रत्येक योगदानप्रति म आभारी छु ।”
अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्यापछि अमेरिकाको मुख्य शहरका सडक र गल्ली युद्ध स्थलको रुपमा परिणत भएको छ । अबेर रातिसम्मको विरोध प्रदर्शनले सडक र गल्ली फोहोरले हिंड्न योग्य हुन्न ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?