न्यूयोर्क, जेठ २६ गते। न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गर्नु भएको छ । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।
मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गर्नु भएको थियो । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।
न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गर्नु भएको थियो । तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए ।