logo
२०८१ असोज ८ मंगलवार



उत्तरी नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


उत्तरी नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा ५९ जनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २८ गते । उत्तरी नाइजेरियामा आक्रमणमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको छ । आक्रमणमा जिहादी समूहको संलग्नताको आशङ्का गरिएको छ ।
उत्तरी नाइजेरियाको बोर्नो प्रान्तको गुबिओ जिल्लास्थित एक दुर्गम गाउँमा बन्दूकधारी समूहले मङ्गलबार दर्जनौँको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गाउँले विरोधमा उत्रिदा जिहादी समूहले प्रतिकार स्वरुप आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
कुनै समूहले जिम्मेवारीको दाबी गरेको छैन । यद्दपि उत्तरी नाइजेरियामा जिहादी समूह बोको हराम र इस्लामिक स्टेट सक्रिय छन् । बोको हराम इस्लामिक स्टेटकै ब्यानरमुनि आक्रमणका घटनाहरु गर्दै आएको छ ।
बोर्नो प्रान्तको सिबोकस्थित एक विद्यालयका २७० बालबालिकालाई बन्धक बनाएपछि बोको हराममाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको थियो । उक्त समूह छिमेकी राष्ट्र चाड, नाइजर र क्यामरुनमा समेत सक्रिय छ । यसै वर्षको मार्च महिनामा जिहादी समूहले थापेको एम्बुसमा परेर कम्तिमा ४७ जना नाइजेरियाली सिपाहीको मृत्यु भएको थियो । घटनाको भोलीपल्टै चाडमै त्यस्तै आक्रमणमा एक सय सिपाहीको मृत्यु भएको थियो ।
एएफपीका अनुसार ५९ जनाको शव सङ्कलन गरिएको छ । रोयटर्सले भने ६९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । रोयटर्सका अनुसार ग्रामीणले जिहादी समूहको गतिविधिबारे सुरक्षा निकायलाई सूचना दिएकोले आक्रमण गरिएको हो । तर एएफपीले भने गाउँलेको प्रतिकारमा जिहादी समूहको मृत्यु भएपछि बदलास्वरुप उक्त घटना गरिएको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?