logo
२०८१ असोज ८ मंगलवार



अमेरिकी वायु सेनाको प्रमुखमा पहिलो अश्वेत नागरिक

अन्तर्राष्ट्रिय |


अमेरिकी वायु सेनाको प्रमुखमा पहिलो अश्वेत नागरिक
तस्विर-अलजजिरा


वासिङ्टन, जेठ २८ गते । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उहाँ पहिलो अश्वेत नागरिक हुनुभएको छ ।
सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गर्नुभएका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताउनुभयो ।

प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।

ब्राउनले हालैका दिनहरूमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गर्नुभएको थियो । उहाँ स्वयम् लडाकु विमानका पाइलट रहनुका साथै उहाँले दुई हजार ९०० घण्टा सैनिक विमान उडाउनुभएको छ ।

ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना हुनुभएको थियो । उहाँले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गर्नुभएको छ । उहाँले एफ–१६ लडाकु विमानको प्रशिक्षकका रुपमा पनि काम गर्नुभएको थियो ।

सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप