logo
२०८१ असोज ९ बुधवार



कोभिड–१९ बाट अफ्रिकामा दुई लाख २५ हजारभन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


कोभिड–१९ बाट अफ्रिकामा दुई लाख २५ हजारभन्दा बढी सङ्क्रमित


आदिस अबाबा, जेठ ३२ गते । अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या दुई लाख २५ हजार नाघेको छ । कोभिड–१९ तीव्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ ।
अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ हजार पुगेको छ भने एक लाख दुई हजार ८४६ जना निको भएर घर फर्किएका छन् ।
अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरू सर्वाधिक प्रभावित भएको उल्लेख छ । उत्तर अफ्रिकी क्षेत्रमा कोविड–१९ बाट भएको मृत्यु र सङ्क्रमित दुवैको सङ्ख्या बढी छ । यद्यपि कोविड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरूमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन् ।
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा एक हजार ६७७ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसहित इजिप्टमा सङ्क्रमितको कुल सङ्ख्या ४२ हजार ९८० पुगेको छ । हालसम्म एक हजार ४८४ जनाको मृत्यु भइसकेको छ । यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसङ्ख्या रहेको इथियोपियामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १६६ पुगेको छ ।
अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या ६५ हजार ७३६ पुगेको र त्यसमध्ये एक हजार ४२३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञासमेत लगाइएको छ ।
सात वटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन् ।
केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन् । अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरू बन्द गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?