बर्लिन, असार ५ गते । बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरूले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् ।
बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी चारबाट तीनमा झार्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार श्रेणी चारमा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको हुन्छ भने श्रेणी तीनले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ । बेलायती स्वास्थ्य अधिकारीहरूले बेलायतमा कोरोना सङ्क्रमणमा व्यापक गिरावट आएको बताएका छन् । बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । यहाँ ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु हुनुका साथै तीन लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिने क्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताउनुभयो ।
यसैबीच, जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमित व्यक्ति फेला परेका छन् । जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् । योसहित जर्मनीमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या एक लाख ८८ हजार ५३४ पुगेको छ ।
यसै गरी, चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ । बेइजिङमा करिब तीन लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ सङ्क्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बेइजिङमा गत साता १८३ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनकाे रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता सङ्क्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ ।